काठमाडौं । भारतका विदेश सचिव विक्रम मिस्री यही मे ११ र १२ गते दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौँ आउने भएका छन्। विदेश सचिव नियुक्त भएपछि यो उनको दोस्रो नेपाल भ्रमण हुनेछ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भ्रमणका क्रममा उनले नेपाल सरकारका वरिष्ठ मन्त्रीहरू तथा उच्च सरकारी अधिकारीहरूसँग द्विपक्षीय हित, विकास सहकार्य र समसामयिक क्षेत्रीय मुद्दाबारे छलफल गर्ने कार्यक्रम रहेको छ।
यद्यपि, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ताको औपचारिक टुङ्गो भने अझै लागिसकेको छैन। कूटनीतिक वृत्तमा भने यस भ्रमणलाई नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउने प्रयासका रूपमा हेरिएको छ।
विशेषगरी व्यापार, पारवहन, ऊर्जा सहकार्य र सीमा व्यवस्थापनजस्ता विषयहरूमा केन्द्रित वार्ता हुने अपेक्षा गरिएको छ। साथै, पछिल्लो समय दुवै देशबीच देखिएका कूटनीतिक सक्रियता र उच्चस्तरीय भेटघाटलाई निरन्तरता दिने सन्दर्भमा पनि यो भ्रमणलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ
