धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ स्थित गलौँदीमा सडक भासिएपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक ( एसपी) सुमित खड्काका अनुसार शुक्रबार साँझ उक्त सडक खण्डमा झन्डै १०० मिटर भाग चर्किएको र २० मिटर सडक खण्ड भासिएपछि सवारी आवागमन रोकिएको हो । दिउँसो सडकको ठूलो भाग भासिएर तल त्रिशुली नदीतर्फ खसेको हो।
‘सडकको अवस्था नागढुङ्गा–नौबिसे खण्डको कृष्णभीरको जस्तै जोखिमपूर्ण बनेको छ,’ एसपी खड्काले भने, मुख्य सडक क्षेत्र पूर्ण रूपमा भासिएको छ। मोटरसाइकल समेत आवतजावत गर्न नमिल्ने गरी बाटो खस्ने क्रम जारी रहेकाले सुरक्षाका दृष्टिले राजमार्ग पूर्ण रूपमा बन्द गरिएको छ। प्राविधिकहरूको टोलीले आएर स्थलगत निरीक्षण र मूल्यांकन गरेपछि मात्र सडकको वास्तविक अवस्था र पुनः सञ्चालनको सम्भावनाबारे भन्न सकिन्छ, खड्काले भने ।
उनले कृष्ण भीरको जस्तै प्रकृतिले सडक भासिएको बताए। घटना लगत्तै प्रहरी टोली खटिएर जोखिम व्यवस्थापन तथा डाइभर्सन वा मर्मतको विकल्पबारे समन्वय भइरहेको प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएपछि राजमार्ग भएर गुड्ने सवारी साधनहरू बाटोमै रोकिएका छन्।
