काठमाडौँ । काठमाण्डौको बूढानीलकण्ठमा २१ किलो सुन बरामद गर्नु पहिले प्रहरीले १० दिनदेखि निरन्तर निगरानी गरेको खुलेको छ । विशेष सूचना प्राप्त भएपछि खटिएको टोलीले एक साताभन्दा लामो निगरानीपछि सुन बरामद गरेको अनुसन्धानमा खटिएका अधिकृतले बताए । ‘हाम्रो उद्देश्य सुन मात्र समात्नु थिएन, त्यसका मालिक पनि समात्नु थियो,’ ती अधिकृतले भने, ‘त्यसैले लामो पर्खाइपछि बरामद गरिएको हो ।’
बरामद गरेपछि प्रहरीले त्यो सुनमा जोडिएका तीन चिनियाँ नागरिकबारे जानकारी पाएको थियो भने घरधनीको नालीबेली पहिल्यै निकालिसकेको थियो । त्यसक्रममा केही व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ । चिनियाँ नागरिकलाई पक्राउ गरेर घरमा छापा मार्दा प्रहरीले कुल २१ केजी ७५० ग्राम सुन बरामद गर्न सफल भएको हो । केही दिनअघिदेखि निरन्तर निगरानी गरेर चलाइएको उक्त अपरेसनलाई ‘ब्राभो गल्फ’ नाम दिइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए । उनले भने, ‘लेसिलो सुन ल्याएर यहाँ प्रशोधन गरी ढिक्का बनाएको देखिन्छ ।’
पक्राउ परेका तीन जनामध्ये सबैभन्दा पहिला आएका हान फेइले दैनिक ८ हजार रुपैयाँ तिर्ने गरी कार भाडामा लिएका थिए । उनीसँग इन्टरनेसनल ड्राइभिङ लाइसेन्स थियो । प्रहरी टोली जब चिनियाँ नागरिकसमेत भएको घरभित्र प्रवेश गर्यो, त्यसपछि उनीहरुले प्रहरीलाई नै उल्टै आक्रमण गर्न खोजेका थिए । अपरेशनमा खटिएका एक अधिकारीका अनुसार, प्रहरीलाई नै आक्रमण गरेर भाग्न खोजे पनि उनीहरु सफल भएनन् ।
यस प्रकरणमा हालसम्म तीन जना चिनियाँ नागरिक मात्र पक्राउ परेका छन् । प्रहरीले हान फेइ, चोउ लोङछिन र ३७ वर्षका वाङ जियानझेनलाई पक्राउ गरेको हो । संलग्न अन्य आरोपीहरूमाथि अनुसन्धान भइरहेको एसएसपी खड्काले बताए । प्रहरीले तयारी अवस्थामा रहेको १० किलो सुन र प्रशोधन गर्न बाँकी ११ किलो सुन बरामद गर्यो । त्यहींबाट सुनको ढिक्का बनाउन प्रयोग गर्ने उपकरणसमेत प्रहरीले बरामद गरेको छ । ‘प्रहरीले गरेको पछिल्लो केही वर्षयताकै सुनसम्बन्धी यो ठूलो अपरेशन हो, ।
प्रहरीका अनुसार, सुन ल्याएर भण्डारण गरेर राखिएको विषयमा गृहमन्त्री सुधन गुरुङसँग समेत सूचना पुगेको थियो । बरामद सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको प्रारम्भिक आशंका छ । ढिक्का बनाएको सुन भारततर्फ तस्करी हुने गरेको ती अधिकृतको भनाइ छ । ‘पक्राउ परेका व्यक्तिसँग सोधपुछ गर्ने काम भइरहेको छ, सबै नेक्ससबारे चाँडै थाहा हुन्छ,’ उनले भने ।
चीनबाट हवाई मार्गसँगै रसुवा, तातोपानीलगायतका नाकाबाट समेत सुन आउने गरेको थियो । तर, पछिल्लो समय चीनसँगको सबै नाका बन्द छन् । विमानस्थलबाट चाहिँ सुनलाई पगालेर विभिन्न स्वरुपमा ल्याउने गरिएका छन् । यसअघि २०८० साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पारगरिसकेको अवस्थामा ‘ब्रेक सु’भित्र ६० किलो सुन बरामद भएको थियो ।
२०७४ सालमा सुन तस्करका भरिया सनम शाक्य मारिएपछि एउटै समूहले चार वर्षमा ३८ क्वीन्टल सुन तस्करी गरेको खुलेको थियो । यूएईबाट विमानस्थल हुँदै आएको सुन भारत जाने गरेको थियो । ३३ किलो सुन हराएपछि तस्कर समूहले खोजबिन गर्ने क्रममा शाक्य मारिएका थिए । त्यसपछि गृह मन्त्रालयले सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा उच्चस्तरीय समिति बनाएर अनुसन्धान थालेको थियो ।
त्यसक्रममा प्रहरी अधिकारीहरुसहित ६३ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । त्यसपछि लामो समयसम्म विमास्थलबाट संगठित सुन तस्करी भएको विवरण आएको थिएन । एकैपटक २०८० सालमा चिनियाँ गिरोहको संलग्नतामा ब्रेक सुमा लुकाएर सुन तस्करी भएको खुलेको थियो । सुन तस्करीमा नेपाली नागरिक भरिया र व्यवस्थापकका रुपमा प्रयोग हुने गरेका छन् ।
