काठमाण्डौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मतदानको समय दुई घण्टा थप गरिएको छ। केन्द्रीय निर्वाचन समितिले सूचना जारी गर्दै मतदानको समय बेलुका ७ बजेसम्मका लागि कायम गरेको हो।
यसअघि बिहानदेखि सुरु भएको मतदान दिउँसो ५ बजेसम्मका लागि तोकिएको थियो। निर्वाचन प्रक्रिया सहज बनाउन र सबै महाधिवेशन प्रतिनिधिलाई मतदानमा सहभागी हुने अवसर दिन समय थप गरिएको निर्वाचन समितिले जनाएको छ। काठमाडौँ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । पछिल्लो विवरण अनुसार ४ हजार ५७५ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
बागमती प्रदेशमा १ हजार ६३, मधेस प्रदेशमा ७९०, लुम्बिनी प्रदेशमा ७०० र गण्डकी प्रदेशमा ६५१ मत खसेको छ । त्यस्तै, कर्णाली र जनसम्पर्क समितिबाट ४९१ तथा सुदूरपश्चिम प्रदेशबाट ४५० मत खसेको छ । कोशी प्रदेशको मतदान विवरण संशोधन गरी ४३० मत कायम गरिएको छ । सबै प्रदेश तथा समूहको विवरण जोड्दा कुल ४ हजार ५७५ मत खसेको छ ।
गण्डकी प्रदेशमा कुल ७७६ मत खस्नुपर्नेमा ६५१ मत खसेको विवरण प्राप्त भएको छ। मतदानका लागि यसअघि तोकिएको समय साँझ ५ बजेलाई बढाएर ७ बजेसम्म पुर्याइएको छ। मतदानको समय थपिएसँगै बाँकी प्रतिनिधिले पनि मतदान गर्न पाउने भएका छन् । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि राष्ट्रिय सभागृहमा मतदान भइरहेको छ । महाधिवेशनमा ७ हजार २५५ जना मतदाता छन् ।
