काठमाण्डौं । जेनजी अभियन्ता माजिद अन्सारीले आफूलाई कीर्तिपुरको होल्डिङ सेन्टरबाट बिनाकारण र बिनापुर्जी किन पक्राउ गरिएको भन्दै सरकारसँग प्रश्न गरेका छन्। शनिबार साँझ प्रहरीले उनीसहित अन्य जेनजी युवाहरूलाई पक्राउ गरेको थियो। पक्राउका क्रममा प्रहरीले लछारपछार गर्दा घाइते भएका अन्सारीको हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।
उपचारका क्रममा सोमबार बिहान अन्सारीले आफूलाई पक्राउ गर्नुको कारण र कानुनी हैसियतबारे गृहमन्त्री तथा प्रहरी प्रमुखसँग जवाफ मागेका छन्। मलाई अहिलेसम्म मेरो पक्राउको कारणबारे कुनै जानकारी दिइएको छैन, न त मलाई कुनै पक्राउ पुर्जी नै देखाइएको छ। मेरो पक्राउको कानुनी हैसियतबारे पनि कुनै स्पष्टता छैन,झ अन्सारीले भनेका छन्, ञके गृहमन्त्री वा प्रहरी प्रमुख ज्यूले यो कुरा स्पष्ट पार्न सक्नुहुन्छ कि यी सबै गैरकानुनी कारबाहीहरू किन यति लक्षित तरिकाले म विरुद्ध गरियो ?
अस्पतालमा उपचार गराइरहेका उनलाई जबरजस्ती डिस्चार्ज गराएर जिल्ला प्रशासन कार्यालयमा लैजाने प्रयास भइरहेको अन्य जेनजी अभियन्ताहरुले बताएका छन् । उनलाई प्रशासन कार्यालय उपस्थित गराएर सार्वजनिक मुद्दा अगाडि बढाउने तयारी गरिएको एक अभियन्ताले बताए । माजिदले भने मानव अधिकार आयोगको रोहबरमा मात्रै आफू अस्पतालबाट प्रशासनमा उपस्थित हुन बताएका छन् । अन्यवा उपस्थित नहुने उनको भनाइ छ ।
गैरकानुनी रुपमा पक्राउ गरी अन्सारीलाई दबाब दिइएको सूचनापछि अहिले मानव अधिकार आयोगको टोली अस्पताल जाँदै छ ।उनले संघीय संसद्का सदस्यहरू, प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समिति, नागरिक समाज, अन्तर्राष्ट्रिय मानव अधिकार समुदाय तथा सम्पूर्ण मानव अधिकार रक्षकहरूलाई आफ्नो सुरक्षा सुनिश्चित गर्न र यस घटनाप्रति ध्यानाकर्षण गराउन अनुरोध गरेका छन्।
