काठमाडौं । देशभर अबिरल बर्षासँगै आएको बाढीले ४ जनाको ज्यान गएको छ । बागलुङमा घरको पर्खाल भत्किँदा एक बालकको मृत्यु भएको छ। ढोरपाटन नगरपालिका–२ सलामकोटमा घरको पर्खाल आइतबार साँझ भत्किँदा च्यापिएर बडिगाड गाउँपालिका–५ का पाँच वर्षीय आशिष भण्डारीको मृत्यु भएको हो।
मावलीघर सलामकोटमा बस्दै आएका भण्डारी आँगनमा खेल्दै गर्दा अचानक घरको पर्खाल भत्किएर पुरिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायब निरीक्षक सुदीप भट्टराईले जानकारी दिए। जाजरकोटको भेरी नगरपालिका–२, राङ्सीमा पहिरोले अस्थायी टहरा पुरिँदा एकवृद्धाको मृत्यु भएको छ। २ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार हिजो साँझ करिब ७ बजे घरमाथिबाट खसेको पहिरोले टहरा पुरिँदा ७१ वर्षीया वृद्धा जसीकुमारी शाहीको मृत्यु भएको हो।
यस्तै दोलखाको कालिञ्चोक गाउँपालिका–१, क्याम्पोलमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। आइतबार राति ९ बजे क्याम्पोल हेलेकपाथलीमा माइतबाट घर फर्कने क्रममा सडकमाथिबाट आएको पहिरोमा परेर ४ महिनाकी नाबालिका एलिसा थामीको मृत्यु भएको प्रहरीले जनाएको छ।
पहिरोमा परेर उनकी १९ वर्षीया आमा शर्मिला थामी गम्भीर घाइते भएकी छन्। पहिरोमा परेका आमा–छोरीको स्थानीयले राति नै उद्धार गरेर दोलखा धुलिखेल अस्पताल ल्याएका थिए। अस्पताल ल्याउने क्रममा नाबालिकाको बाटोमै मृत्यु भएको र गम्भीर घाइते आमा शर्मिलालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा हिजो आएको बाढीका कारण मोदी खोलाको पानीको सतह बढ्दा नदी किनारका दुई घरमा क्षति पुगेको छ। अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा कतिपय स्थानमा यातायात पूर्णरूपमा रोकिएको छ भने केही सडकखण्डमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ ।
यसैबिच बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गहरू अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ। अविरल वर्षासंगै आज बिहान अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२, कोदारीमा पहिरो जाँदा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। कान्तिलोकपथ अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८, भर्याङडाँडामा अस्ति खसेको पहिरोले पूर्ण रूपमा अवरुद्ध भएको सडक अझै खुलेको छैन्। मेची राजमार्गअन्र्तगत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ।
