काठमाण्डौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता तथा नागरिकको सूचनाको हकको संरक्षणमा आमसञ्चार क्षेत्रलाई मर्यादित, जवाफदेही र विश्वसनीय बनाउन कानुनी तथा नीतिगत सुधारलाई प्राथमिकता दिइएको बताए। विनियोजन विधेयक, २०८३ अन्तर्गत सूचना तथा सञ्चार मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको प्रतिनिधिसभामा जवाफ दिदैँ उनले आर्थिक वर्ष २०८३।८४ का लागि मन्त्रालयको नीति, कार्यक्रम र बजेट आमसञ्चार, दूरसञ्चार, हुलाक सेवा, चलचित्र तथा मुद्रण गरी पाँच प्रमुख क्षेत्रमा केन्द्रित रहेको जानकारी दिए।
आगामी आर्थिक वर्षका लागि सञ्चार मन्त्रालय र मातहतका निकायका लागि पाँच अर्ब ९३ करोड ६० लाख बराबर बजेट विनियोजन गरिएको छ। उक्त बजेटमध्ये ८८ प्रतिशत अनिवार्य दायित्व अर्थात् चालु खर्चतर्फ र १२ प्रतिशत पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ।
मन्त्रालय मातहतका निकायहरुमा नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड आफ्नै आन्तरिक स्रोतबाट सञ्चालन भइरहेको तथा नेपाल टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र संस्थान, राष्ट्रिय समाचार समिति र चलचित्र विकास बोर्डले सरकारी अनुदानसँगै आफ्नै स्रोतसमेत परिचालन गर्दै आएको सञ्चारमन्त्री डा तिमिल्सिनाले बताए।
सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समेटिएका मन्त्रालयसँग सम्बन्धित कार्यक्रम कार्यान्वयनका लागि एकीकृत वार्षिक कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याइने तथा नियमित समीक्षा, अनुगमन र मूल्याङ्कन गरिने उहाँले सदनमा जानकारी गराए।
छलफलका क्रममा सांसदहरूले निजी सञ्चारमाध्यमको संरक्षण, श्रमजीवी पत्रकारको अधिकार, सामाजिक सञ्जालको व्यवस्थापन, डिजिटल सुरक्षा तथा गलत सूचना र ‘फेक न्युज’ नियन्त्रणलाई मन्त्रालयको प्रमुख प्राथमिकता बनाउनुपर्ने धारणा राखेका थिए। निजी सञ्चारमाध्यम र श्रमजीवी पत्रकार आफ्ना हकअधिकारको संरक्षणका लागि आन्दोलन गर्न बाध्य भएको अवस्थाप्रति पनि सांसदहरूले चिन्ता व्यक्त गरेका थिए।
यस सम्बन्धमा सञ्चारमन्त्री तिमिल्सिनाले सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता खुम्चिने गरी सरकारले कुनै पनि काम नगर्ने स्पष्ट पार्दै सार्वजनिक सरोकारका सूचना नागरिकले सहज रूपमा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले राष्ट्रिय सूचना आयोगलाई थप सक्रिय बनाइएको बताए। सूचनाको हक प्रभावकारी कार्यान्वयन गरी सार्वजनिक निकायलाई जिम्मेवार, जवाफदेही र पारदर्शी बनाउने दिशामा सरकार अघि बढिरहेको उनको भनाई छ।
पत्रकारहरूको न्यूनतम पारिश्रमिक कार्यान्वयन सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै सञ्चारमन्त्री डा तिमिल्सिनाले सूचना तथा प्रसारण विभागसँग सेवा लिने सञ्चार प्रतिष्ठानले पत्रकारलाई भुक्तानी गरिएको पारिश्रमिकको ‘पे–रोल’समेत पेश गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिए। त्यस्तै, श्रम शोषण कुनै पनि हालतमा स्वीकार्य नहुने र सञ्चार क्षेत्रलाई सुरक्षित तथा मर्यादित बनाउन सरकार प्रतिबद्ध रहेको बताए।
पत्रकारितासँग सम्बन्धित संस्था दलगत आधारमा स्थापना गर्नु प्रेस स्वतन्त्रता वा अन्तर्राष्ट्रिय मान्यताअनुरूप नहुने पनि उहाँको धारणा थियो। त्यस्तै, सञ्चारमन्त्री डा तिमिल्सिनाले पत्रकारिता क्षेत्रसँग सम्बद्ध संस्थाका कार्यक्रमका लागि आगामी आर्थिक वर्षको लागि ५० लाख विनियोजन भएको बताए।
जसमध्ये खोजमूलक तथा जिम्मेवार पत्रकारिता फेलोसिप कार्यक्रमका लागि २१ लाख, मिडिया नवप्रवर्तन तथा तथ्य प्रमाणीकरण ९फ्याक्ट चेक० कार्यक्रमका लागि २४ लाख ५० हजार तथा सार्वजनिक गुनासो व्यवस्थापन र पारदर्शिता प्रणाली विकास कार्यक्रमका लागि ४० लाख विनियोजन गरिएको छ।
प्राकृतिक विपद्का समयमा सार्वजनिक प्रसारण संस्थामार्फत पूर्वसूचना प्रवाह गर्ने तथा दूरसञ्चार सेवा प्रदायकमार्फत एसएमएस प्रणालीबाट पूर्वसूचना उपलब्ध गराउने व्यवस्था पनि प्रभावकारी रूपमा सञ्चालन भइरहेको सञ्चारमन्त्री डा तिमिल्सिनाले सदनलाई जानकारी दिए।
प्रतिनिधिसभाका विभिन्न बैठकहरुमा सांसदहरूले ग्रामीण, पहाडी तथा हिमाली क्षेत्रमा अझै गुणस्तरीय मोबाइल नेटवर्क र इन्टरनेट सेवा नपुगेको, महँगो डाटा तथा कमजोर सेवाबाट नागरिक प्रभावित भएको तथा साइबर अपराध बढ्दै गएको समेत बताए।
ती प्रश्नहरुलाई सम्बोधन गर्दै गुणस्तरीय र सुलभ दूरसञ्चार सेवा विस्तार सरकारको प्राथमिकतामा रहेको बताए । दूरसञ्चार ऐनलाई समयानुकूल संशोधन गर्ने कार्य जारी रहेको उल्लेख गर्दै उनले मोबाइल नेटवर्कको नियमित अनुगमन, ड्राइभ टेस्ट र नेटवर्क अप्टिमाइजेसन मार्फत सेवाको गुणस्तर सुधार भइरहेको बताए।
उनले सेवा नपुगेका तथा नयाँ माग भएका क्षेत्रमा सञ्चार सेवा विस्तार गर्न नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गतको ग्रामीण दूरसञ्चार विकास कोष ९आरटीडीएफ० परिचालनलाई तीव्रता दिईएको बताए। देशभर बीटीएस, ई–नोडबी, मोबाइल टावर तथा ‘फाइबर टु द होम’ ९एफटीटीएच० पूर्वाधार विस्तारको कार्य अघि बढाइएको जानकारी दिदैं उनले आर्थिक वर्ष २०८१÷८२ मै एफटीटीएच सेवा ७७ वटै जिल्ला सदरमुकामसम्म पुगेको र अब सबै नगरपालिका तथा गाउँपालिकाका वडासम्म विस्तार गर्ने काम सुरु भइसकेको बताए।
साथै मध्यपहाडी लोकमार्ग तथा अन्य राजमार्गमा अप्टिकल फाइबर विस्तार गरी सेवाको गुणस्तर थप सुधार गरिने बताए । हाल ६ हजार ७४३ वडा केन्द्रमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुगेको, चार हजार २७२ स्वास्थ्य संस्था तथा पाँच हजार ३४१ सामुदायिक माध्यमिक विद्यालयमा ब्रोडब्यान्ड जडान सम्पन्न भईसकेको छ।
नेपाल टेलिकममार्फत चालु आर्थिक वर्षको जेठसम्म १६२ स्थानमा २जी, १३ स्थानमा ३जी तथा ५८८ स्थानमा ४जी ई–नोडबी गरी कुल ७६३ स्थानमा नयाँ पूर्वाधार सञ्चालनमा आएको तथा आगामी आर्थिक वर्षमा थप एक हजार ५९७ बीटीएस तथा ई–नोडबी खरिद प्रक्रिया अघि बढाइएको बताए।
हुलाक सेवा अझै पुरानै शैलीमा सीमित रहेको सांसदहरूको जिज्ञासाको जवाफमा सञ्चारमन्त्री डा तिमिल्सिनाले हुलाकलाई आधुनिक, प्रविधिमैत्री तथा सेवामुखी बनाउने अभियान तीव्र पारिएको बताए। आगामी आर्थिक वर्षमा थप ५० स्थानीय तहका हुलाक कार्यालयमा सूचना प्रविधि पूर्वाधार स्थापना गर्न दुई करोड ५० लाख विनियोजन गरिएको बताए। नेपाल डिजिटल ट्रान्सफर्मेसन परियोजनाअन्तर्गत पनि हुलाकको आधुनिकीकरणमा लगानी गरिने सञ्चारमन्त्री डा तिमिल्सिनाले बताए।
हाल हुलाकमार्फत राहदानी, सवारी चालक अनुमतिपत्र, लालपुर्जा, प्रयोगशालाका नमूना, राष्ट्रिय वाणिज्य बैंकका एटीएम कार्ड, स्वास्थ्य बीमा बोर्डका सामग्री तथा विभिन्न सरकारी कागजात ढुवानी भइरहेको बताउँदै देशभित्र हवाई सेवा पुगेका सबै जिल्लामा ईएमएस सेवा विस्तार भएको तथा ३९ देशसँग द्रुत डाँक सेवा र ७१ देशका ९३ गन्तव्यमा पार्सल सेवा सञ्चालन भइरहेको बताए।
सञ्चारमन्त्री डा तिमिल्सिनाले हुलाक सेवाको पुनःसंरचना गरी नयाँ व्यवसायिक ढाँचामा लैजाने तयारी भइरहेको बताउँदै हालसम्म ६२ जिल्लामा घरदैलोमै सेवा पुर्याउने व्यवस्था सुरु भइसकेको समेत सदनलाई जानकारी दिए।
चलचित्र, वृत्तचित्र र फोटोग्राफी क्षेत्रको अन्तर्राष्ट्रिय प्रवद्र्धन प्रभावकारी नभएको सांसदहरूको जिज्ञासामाथि सञ्चारमन्त्री डा तिमिल्सिनाले चलचित्र छायाङ्कन अनुमति प्रक्रियालाई सरल र छरितो बनाइएको जानकारी दिए। उनले काभ्रेपलाञ्चोकको बनेपामा अत्याधुनिक छायाङ्कन स्टुडियो निर्माण कार्य सुरु भइसकेको र आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको बताए।
चलचित्रसम्बन्धी विधेयक संघीय संसद्मा दर्ता भई प्रतिनिधिसभाको समितिमा छलफलको क्रममा रहेको जानकारी दिदैँ सांस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्र निर्माणका लागि आगामी आर्थिक वर्षका लागि रु तीन करोड ५० लाख बराबर प्रोत्साहन अनुदान विनियोजन गरिएको बताए।
त्यस्तै, मुलुकको मुद्रण क्षेत्र आर्थिक संकट र प्रविधिगत चुनौतीबाट प्रभावित रहेको भनी सांसदहरूले उठाउनुभएको जिज्ञासा माथि जवाफ दिनुहुँदै सञ्चारमन्त्री डा तिमिल्सिनाले सुरक्षण मुद्रण ऐन, २०८१ बमोजिम संवेदनशील मुद्रण सामग्री स्वदेशमै उत्पादन गर्ने पूर्वाधार निर्माण भइरहेको जानकारी दिए। हाल हुलाक टिकट तथा सवारी चालक अनुमतिपत्र नेपालमै छाप्ने कार्य सुरु भइसकेको छ।
हालसम्म छापिन बाँकी २९ लाखमध्ये १८ लाख सवारी चालक अनुमतिपत्र छापिएको र चालु आर्थिक वर्षभित्र विगतमा बाँकी रहेका सबै अनुमतिपत्र छपाइ सम्पन्न गरिने सञ्चारमन्त्री डा तिमिल्सिनाले बताए। आगामी आर्थिक वर्षदेखि माग अनुसार तत्कालै अनुमतिपत्र छाप्न सक्ने अवस्था सिर्जना गरिने उनको भनाई थियो।
यस अवधिमा ३४ लाख ५० हजार हुलाक टिकट छपाइ सम्पन्न भएको र सुरक्षण मुद्रण केन्द्रका लागि आगामी आर्थिक वर्षका लागि ३२ करोड ४७ लाख बजेट विनियोजन गरिएको बताए। आवश्यकताअनुसार सुरक्षण मुद्रण केन्द्रलाई थप सहयोग उपलब्ध गराइने पनि सञ्चारमन्त्री डा तिमिल्सिनाले बताए।
प्रतिनिधिसभा विभिन्न बैठकहरुमा सांसदहरूले सूचना तथा सञ्चार मन्त्रालयको बजेट अपर्याप्त भएको, कृत्रिम बुद्धिमत्ता ९एआई०, साइबर सुरक्षा, डाटा अर्थतन्त्र तथा डिजिटल पूर्वाधारलाई पर्याप्त बजेट दिनुपर्ने धारणा राखेका थिए । साथै मन्त्रालयको बजेटमध्ये तीन अर्ब ६१ करोड ४६ लाख बराबर रकमको विस्तृत विवरण सार्वजनिक नभएको विषय पनि सदनमा उठाइएको थियो।
यसको जवाफमा सञ्चारमन्त्री डा तिमिल्सिनाले मन्त्रालय तथा मातहतका निकायका लागि विनियोजित बजेट मन्त्रालयगत बजेट सूचना प्रणाली ९एलएमबिआइएस० मा गतिविधि छुट्याइएको र क्षेत्रगत आधारमा विनियोजन गरिएको स्पष्ट पारे। बजेटको अधिकतम उपयोग हुने गरी विनियोजन दक्षता अपनाइएको पनि सञ्चारमन्त्री डा तिमिल्सिनाको भनाई छ।
प्रतिनिधिसभाको आजको बैठकमा नेपाल डिजिटल ट्रान्सफर्मेसन परियोजनामार्फत सरकारी सेवा आधुनिकीकरण, राष्ट्रिय साइबर सुरक्षा सुदृढीकरण तथा डिजिटल सार्वजनिक पूर्वाधार विस्तारका कार्यक्रमलाई समेत प्रभावकारी रूपमा अघि बढाइने बताए। त्यस्तै, सूचना तथा सञ्चार क्षेत्रमा भइरहेको तीव्र विकासले आर्थिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा सकारात्मक प्रभाव पारिरहेको भन्दै आगामी आर्थिक वर्षका सबै कार्यक्रम समयमै सम्पन्न गरी लक्षित उपलब्धि हासिल गर्ने प्रतिबद्धता व्यक्त गरे।
