काठमाण्डौं । नवप्रवर्तन मन्त्री महाविर पुनले विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सबै कुरा शून्यबाट सुरु हुने बताएका छन्। उनले नवप्रवर्तन मन्त्रालय चलाउन सामान्य नभएको भन्दै विज्ञान प्रविधि तथा नवप्रवर्तन ऐन ल्याउन विधेयक बनाउने निर्णय गर्नुको साथै मन्त्रालयमा आवश्यक पर्ने कर्मचारी, दरबन्दी मिलान र काम गर्नमा प्रभावकारिता देखाउन सर्वेक्षण गर्ने निर्णय गरेको बताएका छन्।
‘यो मन्त्रालय चलाउन अरु मन्त्रालय जस्तो सबै कुरा तयारी अवस्थाका छैन। सर्वप्रथम विज्ञान प्रविधि तथा नवप्रवर्तन ऐन ल्याउन विधेयक बनाउने निर्णय गरियो। अनि यो मन्त्रालय सुचारु रूपमा चलाउन कति कर्मचारी राख्ने, दरबन्दी कति चाहिने र काम कसरी छिटो र प्रभावकारी बनाउने भनेर सर्भेक्षण गर्ने निर्णय गरियो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
साथै सबै मन्त्रालयमा भइरहेको अनुसन्धान तथा नवप्रवर्तनलाई प्रभावकारी बनाउन आवश्यकता रहेको भन्दै यसलाई गहन छलफल गरिने बताए।
