काठमाण्डौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीले सार्वजनिक जिम्मेवारी सम्हालेको झण्डै पाँच हप्तापछि आफ्नो कार्यशैली र नैतिकताका विषयमा १० बुँदे प्रतिबद्धता सार्वजनिक गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पद र जिम्मेवारीमा रहँदा आफूले नगर्ने कामहरूको सूची सार्वजनिक गर्दै सुशासनको बाचा गरेकी हुन्।
मन्त्री वादीले नातागोता, सम्बन्ध वा चिनजानका आधारमा कसैलाई जागिर नलगाउने र स्वार्थप्रेरित सरुवा(बढुवा नगर्ने बताएकी छन्। उनले कानुनविपरीत भनसुन गर्ने वा शक्तिको दुरुपयोग नगर्ने अठोट समेत व्यक्त गरिन्। उनले लागूऔषध, ठगी, तस्करीजस्ता अपराधमा संलग्न र कानुन उल्लङ्घन गर्ने कुनै पनि व्यक्तिको संरक्षण नगर्ने स्पष्ट पारेकी छन्।
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिने बताउँदै उनले कुनै पनि बहानामा कमिसन वा घुस नलिने प्रतिबद्धता जनाएकी छन्। विशेष गरी महिला, दलित, बालबालिका, ज्येष्ठ नागरिक र सीमान्तीकृत समुदायमाथि हुने हिंसाविरुद्ध सधैं लड्ने र त्यस्ता मुद्दामा कुनै सम्झौता नगर्ने उनले उल्लेख गरेकी छन्।
उनले राज्यका स्रोत(साधनको दुरुपयोग नगर्ने र सरकारी सेवाका लागि पहुँच वा दबाबका आधारमा हुने कुनै पनि प्रयास स्वीकार नगर्ने बताएकी छन्। उनले मन्त्रीका रूपमा पाइने अनावश्यक सुविधा समेत नलिने घोषणा गरेकी छन्। मन्त्री वादीले भनेकी छन्, ‘“भोट दिएको हुँ” भन्ने आधारमा दबाब वा प्रभावमा पर्ने छैनस सबै नागरिकलाई समान रूपमा सेवा गर्नेछु। विशेषगरी कमजोर र सीमान्तीकृत वर्गलाई प्राथमिकता दिनेछु।’
नागरिकका दुःखमा सम्भव भएसम्म आफैं उभिने प्रयास गर्ने बताउँदै उनले सुशासनका लागि नागरिकको सचेत प्रयास आवश्यक रहेकोमा जोड दिएकी छन्। सम्बन्धभन्दा नियमको सम्मान गर्न र व्यक्तिगत स्वार्थभन्दा समाजको हितलाई प्राथमिकता दिन पनि उनले सबैलाई आह्वान गरेकी छन्।
हेर्नुस् उनको प्रतिबद्धता
प्रिय नागरिक दाजुभाइ तथा दिदीबहिनीहरू,
जनताको आशा र विश्वास बोकेर सार्वजनिक जिम्मेवारी सम्हालेको झन्डै पाँच हप्ता भएको छ। यस अवधिमा म आफ्ना केही विचार र प्रतिबद्धता यहाँहरू सामु राख्न चाहन्छु। जिम्मेवारी सम्हालेपछिका कामबारे आगामी दिनमा अद्यावधिक गर्नेछु। अहिले भने मैले नगर्ने केही विषयहरू स्पष्ट गर्न चाहन्छु।
पद र जिम्मेवारीमा म निम्न कामहरू गर्दिनँस्
१. नातागोता, सम्बन्ध वा चिनजानको आधारमा जागिर लगाउने, नियुक्ति दिने तथा स्वार्थप्रेरित सरुवा(बढुवा मिलाउने काम गर्दिनँ।
२. कानुनविपरीत भनसुन गर्ने वा शक्तिको दुरुपयोग गर्दिनँ।
३. कानुन वा नियम उल्लङ्घन गर्ने व्यक्तिको संरक्षण गर्ने वा गलत काम गर्ने व्यक्तिलाई कानुनी कारबाहीबाट बचाउने काम गर्दिनँ।
४. लागूऔषध, ठगी, जालसाजी, कुटपिट, तस्करीजस्ता अपराधमा संलग्न कुनै पनि व्यक्तिको संरक्षण गर्दिनँ।
५. कुनै पनि बहानामा कमिसन, घुस लिने वा भ्रष्टाचार गर्नेरगराउने काममा संलग्न हुने छैन। त्यस्तो कार्य भएको जानकारी पाएमा त्यसविरुद्ध सशक्त रूपमा उभिनेछु।
६. विशेष गरी(महिला, दलित, बालबालिका, ज्येष्ठ नागरिक, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति वा कुनै पनि सीमान्तकृत समुदायमाथि हुने हिंसा र अन्यायविरुद्ध सधैँ लड्नेछु। यस्ता मुद्दामा कुनै सम्झौता हुने छैन।
७. राज्यका कुनै पनि स्रोत(साधनको दुरुपयोग गर्दिनँ।
८. सरकारी सेवा छिटो गराइदिन सर्टकट खोज्ने, सिफारिस मिलाइदिन वा स्रोतसाधन निजी प्रयोजनमा प्रयोग गराउने प्रयास स्वीकार गर्दिनँ।
९ . मन्त्री सुविधाका नाममा अनावश्यक सुविधा(क्वार्टर, घरभाडा वा कूटनीतिक राहदानी(लिने छैन।
१०. “भोट दिएको हुँ” भन्ने आधारमा दबाब वा प्रभावमा पर्ने छैनस सबै नागरिकलाई समान रूपमा सेवा गर्नेछु। विशेषगरी कमजोर र सीमान्तकृत वर्गलाई प्राथमिकता दिनेछु।
नागरिकका दुःख, आपत् वा अप्ठ्यारोमा भने सम्भव भएसम्म म आफैँ तपाईंहरूसँग उभिन प्रयास गर्नेछु।
मलाई विश्वास छ(सुशासन केवल सरकारको नीतिले मात्र होइन, नागरिकको सचेत र सामूहिक प्रयासबाट सम्भव हुन्छ।
हामी सबै मिलेर मात्र वास्तविक परिवर्तन सम्भव छ।
आउनुहोस्,
सम्बन्ध होइन(नियमको सम्मान गरौँ।
दबाब होइन(न्यायको साथ दिऔँ।
व्यक्तिगत स्वार्थ होइन(समाजको हितलाई प्राथमिकता दिऔँ।
