काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ( सिआईबीले ) नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्कालाई पक्राउ गरेको छ । खडकाले इजरायल पठाइदिने भन्दै रकम ठगी गरेको पाइएपछि शुक्रबार महाधिवेशनस्थल खुल्लामञ्चबाटै पक्राउ गरिएको हो ।
इजरायल पठाइदिने भन्दै रकम ठगी गरेको प्रकरणमा खड्काको संलग्नता देखिएपछि पक्राउ गरी अनुसन्धान अघि बढाइएको सिआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराले जानकारी दिनुभयो । कांग्रेसको खुला महिलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको खड्का महाधिवेशन प्रतिनिधिसँग मत मागिरहेका बेला पक्राउ परेको जनाइएको छ ।
प्रहरीका अनुसार वैदेशिक रोजगारीका लागि इजरायल पठाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा यसअघि पक्राउ परेका रामेछापका भरत चौलागाईंमार्फत खड्काको नामसमेत अनुसन्धानमा जोडिएको थियो । सोही प्रकरणमा थप अनुसन्धान गर्ने क्रममा खड्कालाई पक्राउ गरिएको हो ।
यसअघि सिआईबीले दोलखाकी ३२ वर्षीया बालिका सिवाकोटी र रामेछापका ५१ वर्षीय चौलागाईंलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। पक्राउ परेकाहरूमाथि इजरायल पठाइदिने भन्दै दुई करोड ५० लाख रुपियाँ ठगी गरेको आरोप छ । उक्त प्रकरणमा खड्काको संलग्नता र भूमिकाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
खड्का कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा चयन हुनुभएको थियो । उहाँ हाल १५औँ महाधिवेशनमा रामेछापबाट महाधिवेशन प्रतिनिधि निर्वाचित हुँदै केन्द्रीय सदस्य पदमा उम्मेदवार बन्नुभएको हो ।
