काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा निर्वाचित गगन थापालाई वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले शुभकामना दिंदै यो यात्रा सुरु भएको तर लक्ष्य प्राप्त गर्न बाँकी रहेको बताएका छन् ।
शुभकामनासँगै शर्माले पार्टीभित्रका भिन्न मत र मनहरूलाई जोड्नुपर्ने, विगतका कमजोरी सच्याउँदै देशलाई गन्तव्यमा पुर्याउनुपर्ने बताएका छन् । ‘यात्राको सुरुवात हो, लक्ष्यको प्राप्ति होइन , हिँड्नु धेरै छ हामीले, गन्तव्यमा पुर्याउनु छ देशलाई’, शर्माले फेसबुकमा लेखेका छन्, ‘अफ्ठ्यारा आउँछन्, सामना गर्नुछ संयमले । जोड्नु छ भिन्न मत र मनहरू ।’
उनले इतिहासप्रति इमानदार रहँदै विगतका गौरवलाई पछ्याउन र कमजोरी सच्याउनुपर्नेमा पनि जोड दिएका छन् । देशको समुन्नति सम्भव तुल्याउनुपर्ने भन्दै उनले ‘सक्नुपर्छ र सक्नेछौँ’ भन्ने विश्वास व्यक्त गरेका छन् ।
गगनलाई अपार विश्वास र दृढ साथसहित आफू उभिएको तथा आफूहरू लामबद्ध रहेको उल्लेख गर्दै शर्माले लेखेका छन्, ‘लु ब्रदर– बलियो कमान्डका लागि शुभकामना १’ । १५औं महाधिवेशनबाट गगन थापा आज बिहान मात्रै सभापति निर्वाचित भएका हुन् । मतदान भएका अन्य पदाधिकारीहरुको मतगणना भने आज दिउँसोदेखि मात्रै सुरु हुनेछ ।
