काठमाडौँ । चाडबाडको समयमा काठमाडौँ उपत्यकामा एलपी ग्यासको उपलब्धतालाई थप सहज बनाउन नेपाल एल।पी। ग्यास उद्योग संघले उपत्यकाका विभिन्न छ स्थानबाट सिलिन्डर बिक्री तथा साटासाट गर्ने व्यवस्था मिलाएको छ । संघका अध्यक्ष दिवान चन्दद्वारा जारी विज्ञप्तिअनुसार हाल भारतका विभिन्न रिफाइनरीहरूबाट एलपी ग्यासको आयात सहज रूपमा भइरहेको र गत भदौ महिनामा मात्रै ४२ लाख १३ हजार ६ सय ६१ सिलिन्डर बिक्री वितरण भइसकेको छ ।
काठमाडौँ उपत्यकामा ग्यासको बिक्री वितरण सहज बन्दै गएको भए तापनि चाडबाडका बेला केही उपभोक्ताले सहजै ग्यास नपाएको र एक(अर्काको ब्रान्डको सिलिन्डर साट्न नपाएको गुनासो आएकाले यस्तो निर्णय गरिएको संघले जनाएको छ । उपभोक्ताको गुनासो सम्बोधन गर्न नेपाल आयल निगमको समन्वय तथा ग्यास विक्रेता महासंघको सहकार्यमा असोज २५ गते आइतबारदेखि असोज ३१ गते शनिबारसम्म बिहान ९.३० बजेदेखि अपरान्ह ४.३० बजेसम्म तोकिएका स्थानहरूबाट ग्यास बिक्री वितरण गरिनेछ ।
यसअन्तर्गत सिफलचौरमा ग्यास एण्ड अक्सिजन ट्रेडर्समार्फत एभरेस्ट र सुगम ग्यास तथा पेप्सीकोलामा सगर ग्यास उपलब्ध गराइनेछ ।त्यसैगरी बालाजु औद्योगिक क्षेत्रको गेट अगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यास, सुकेधारामा बाबा र श्री ग्यास, कलंकीमा साइबाबा र श्रीकृष्ण ग्यास तथा ललितपुरको हरिसिद्धिमा श्रीराम ग्यास बिक्री तथा साटासाटको व्यवस्था मिलाइएको छ । विज्ञप्तिमा उल्लेख गरिएका तोकिएका बिक्री केन्द्रहरूबाट काठमाडौं उपत्यकामा बिक्री हुने सदस्य उद्योगका ग्यास सिलिन्डर मात्र साटफेर गरिने र तोकिएका स्थानबाहेक अन्यत्र यो सुविधा उपलब्ध नहुने संघले स्पष्ट पारेको छ।
