काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले विभिन्न सञ्चारमाध्यमका गेटमा पहिचान नखुलेका सवारीसाधनहरू शंकास्पद रूपमा राखिएको घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । रास्वपाका महामन्त्री विपिन आचार्यले विज्ञप्ति जारी गर्दै मिडियालाई मनोवैज्ञानिक दबाबमा राख्ने आशयले गरिएका यस्ता शंकास्पद र रहस्यमय गतिविधि लोकतान्त्रिक मूल्य(मान्यताका ठाडो उल्लङ्घन भएको उल्लेख गरेका छन्।
‘एक लोकतान्त्रिक, जिम्मेवार र विधिको शासनमा विश्वास गर्ने राजनीतिक दलको हैसियतले रास्वपा सदैव पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकार र स्वतन्त्र पत्रकारिताको पक्षमा दृढतापूर्वक उभिएको छ’, विज्ञप्तिमा भनिएको छ।
कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रता हनन् गर्ने, सञ्चार गृहहरूमा त्रासको वातावरण सिर्जना गर्ने र चौथो अङ्गलाई सङ्कुचित पार्न खोज्ने जुनसुकै प्रवृत्तिका अवाञ्छित क्रियाकलापहरू किमार्थ स्वीकार्य नहुने रास्वपाले जनाएको छ। रास्वपाले घटनाको तत्काल छानबिन गरी जो सुकै संलग्न भए पनि तत्काल पहिचान गरी कानुनबमोजिम कारबाही गर्न गृह मन्त्रालयलाई अनुरोध गरेको छ।
