काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालको भूमिका निष्पक्ष र समन्वयकारी हुन नसकेको आरोप लगाएका छन्। सोमबार सिंहदरबारमा सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता आङदेम्बेले यस्तो आरोप लगाएका हुन्। उनले सभामुख अर्याललाई विपक्षी दलहरूको नाडी छाम्ने प्रयास नगर्न समेत चेतावनी दिए।
सभामुख कुनैपनि दलको सदस्य नभएको स्मरण गराउँदै उनले सभामुखले संसदभित्र आफ्नो भूमिका कस्तो हुनुपर्छ भन्नेकुरा बुझ्न आवश्यक रहेको पनि बताए। उनले सबै दलका प्रतिनिधिले संसद्मा आफ्नो धारणा राख्न पाउनुपर्ने बताए। सत्तापक्षको तर्फबाट सदनमा बारम्बार विवादित अभिव्यक्ति सार्वजनिक हुँदाहुँदै पनि प्रतिपक्षले दैनिक कार्यसूची सञ्चालनमा सहयोग गरेको विषयलाई कमजोरीको रूपमा नलिन समेत उनको चेतावनी थियो।
उनले भने, ‘संसद्मा विरोध जनाएपछि पछि विपक्षी दलहरू सबैले बोल्न पाउनुपर्यो। यो नाडी छाम्ने काम गर्नुहुँदैन संसद्भित्र। सदन सञ्चालन गर्नुहुने सभामुखज्यूले आफ्नो भूमिका बुझ्नुपर्छ। उहाँ अहिले कुनै पार्टीको हुनुहुन्न। यो कुरा बुझेर अगाडि बढ्नुभयो भने सजिलो हुन्छ।’
उनले अगाडि भने, ‘संसद्मा जे जस्तो खालको अभिव्यक्तिहरू आउने गरेका छन्। त्यसमा पनि प्रतिपक्षले दैनिक कार्यसूचीलाई सञ्चालन गर्नको निम्ति जुन सहृदयता देखाएको छ यसलाई कमजोरी नठानिकन मित्रवत् सम्झिनुपर्छ। किनभने त्यो सबै कुरा मुलुकलाई केन्द्रमा राखेर गरिएको हो।’ सत्तापक्षले विपक्षी दलहरूसँग समन्वय नगर्दा सदनमा समस्या सिर्जना भइरहेको उनको बुझाइ छ।
