काठमाडौँ । पूर्वप्रधानमन्त्रीको हैसियतमा रहेका चार कम्युनिष्ट नेता भदौ २३ र २४ गतेको आन्दोलनपछि एकै मञ्चमा देखिने भएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल एउटै मञ्चमा देखिने भएका हुन्।
असार १४ गते आइतबार मदन भण्डारीको ७५ औँ जन्मजयन्ती कार्यक्रममा मदन भण्डारी फाउण्डेसनले काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजना गर्ने कार्यक्रममा चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा भेटिने भएका हुन्। उनीहरू त्यहाँ ‘नेपालको कम्युनिस्ट आन्दोलन र मदन भण्डारी विषयक विचार गोष्ठी तथा पुरस्कार वितरण समारोह’मा सहभागी हुनेछन्।
कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी हुनेछन्। तत्कालीन एमाले महासचिव मदन भण्डारीको जन्मजयन्ती पर्सि असार १४ गते ७५ औँ हो। जन्मजयन्तीका अवसरमा मदनबारे नेताहरूले चर्चा गर्नुका साथै पुरस्कार वितरण गरिने कार्यक्रम छ। कार्यक्रमकी प्रमुख अतिथि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी रहनेछन्।
