काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत संसदीय सुनुवाइ समितिमा विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुँदै छ ।संसद् सचिवालयका अनुसार आज बिहान सवा ११ बजे बस्ने बैठकमा प्रस्तावित राजदूतमाथि प्राप्त उजुरी सुनुवाइ समितिका सदस्यहरूलाई वितरण गरिने छ ।
साथै आजको बैठकमा प्रस्तावित राजदूतहरूबाट पेस भएका कार्ययोजनाहरू समितिका सदस्यहरूलाई वितरण गर्ने कार्यसूची छ । प्रस्तावित १३ जना राजदूतहरूविरुद्ध ७ वटा उजुरी परेको छ । २ वटा उजुरी सबै जना विरुद्ध परेको छ भने ५ वटा एकरएक जना व्यक्ति तोकेर परेको छ । २ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ वटा देशका लागि राजदूतहरूको सिफारिस गर्ने निर्णय गरेको थियो ।
सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापा, संयुक्त अधिराज्य ( यूके ) का लागि पूर्वप्रधानसेनापति गौरवशम्शेर जंगबहादुर राणालाई सिफारिस गरेको छ । यसैगरी जापानका लागि जिज्ञानकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि शरू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई सिफारिस गरेको छ ।
