काठमाण्डौं । नेपाली कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय हुने भएको छ। कांग्रेसको महाधिवेशनबाट विधान संशोधन भएसँगै केन्द्रीय समितिको आकार साबिकको भन्दा ठुलो भएको हो। यसअघि कांग्रेस केन्द्रीय समिति १६६ सदस्यीय थियो। कांग्रेसको जारी १५औं महाधिवेशनको दोस्रो दिन सोमबार खुलामञ्चमा भएको बन्दसत्रमा महामन्त्री प्रदीप पौडेलले पेस गरेको संशोधित विधान प्रस्ताव पारित भएसँगै केन्द्रीय समितिको आकार बढेको हो।
संशोधित विधानअनुसारमा केन्द्रीय समितिमा २५ पदाधिकारी रहने छन्। जसमा सभापति एक, वरिष्ठ उपसभापति एक तथा उपसभापतिमा कम्तीमा एक महिलासहित चार जना रहने छन्। कांग्रेसले पहिलो पटक वरिष्ठ उपसभापति पद थप गरेको हो। पारित विधानअनुसार महामन्त्रीमा कम्तीमा एक महिलासहित तीन जना रहने छन्। सहमहामन्त्रीमा १५ जना रहने छन्।
केन्द्रीय सदस्यमध्येबाट एक जनालाई कोषाध्यक्षमा मनोनीत गरिने छ। यसैगरी पार्टीका एक प्रवक्ता र एक सहप्रवक्ता रहने व्यवस्था पनि गरिएको छ। केन्द्रीय सदस्यहरूमा खुलामा ४५ जना रहने छन्। महिला खुलामा १५ जना हुने छन्। हरेक प्रदेशबाट एक महिलासहित चार जना सदस्य हुने छन्। मंगलबार बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन हुने भएकाले विधान सोमबार नै पारित गरिएको हो। निर्वाचन प्रक्रिया सोमबार नै सुरु भएको छ। मतदान असोज २२ गते बिहान साढे ७ बजेदेखि साँझ ५ बजेसम्म हुने तालिका तय गरिएको छ।
सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन भने मंगलबारको बन्दसत्रले पारित गर्ने छ। पार्टीका प्रवक्ता देवराज चालिसेले मिडिया ब्रिफिङ गर्दै संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहन जानकारी गराए। उनले गराएको जानकारीअनुसार उपत्यकाबाट एक महिलासहित दुई जना अनिवार्य गरिएको छ। त्यस्तै दलिततर्फ पाँच महिला र एक मधेसीसहित १४ जना रहने छन्। जनजातितर्फ आठ महिलासहित २० जना हुने छन्। खस आर्यबाट आठ महिलासहित १८ जना हुने छन्।
मधेसीतर्फ पाँच महिलासहित १३ जना हुने छन्। त्यस्तै जनसम्पर्क समितिबाट दुई महिलासहित सात जना हुने छन्। पिछडिएको वर्गबाट तीन जना हुने छन्। थारूबाट दुई महिलासहित ६ जना रहने छन्। श्रमिकबाट एक महिलासहित तीन जना, पेसागत विज्ञबाट दुई महिलासहित सात जना रहने छन्। सातै प्रदेशबाट ३५ वर्ष मुनिका युवा २१ जना पनि रहने छन्। त्यस्तै अपांगता भएकाबाट एक जना तथा प्रजातन्त्र सेनानीबाट तीन जना केन्द्रीय सदस्य रहने छन्। केन्द्रीय कार्यसमितिले पछि ६६ जना मनोनीत गर्ने व्यवस्था संशोधित विधानमा गरिएको छ। संशोधित विधानअनुसार जिल्ला सम्पर्क समिति समन्वय परिषद्को व्यवस्था गरिएको छ।
यसैगरी कांग्रेसमा लामो समय निरन्तर योगदान पुर्याउँदै आएका तथा राष्ट्रिय जीवनका विविध क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका तर हाल कुनै पदीय जिम्मेवारीमा नरहेका ज्येष्ठ सदस्यहरूको योगदानलाई सम्मान गर्न तथा उनीहरूको अनुभव र ज्ञान दक्षतालाई पार्टीमा सदुपयोग गरी सल्लाह सुझाव लिन ज्येष्ठ सदस्य सल्लाहकार परिषद्को व्यवस्था गरिएको छ। यसैगरी विधानमा कांग्रेस युवा परिषद्को व्यवस्था गरिएको छ। विधानअनुसार युवा केन्द्रीय सदस्यको नेतृत्वमा कांग्रेस युवा परिषद् रहने छ।
