काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा नेता विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका छन् । १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भइरहेको मनोनयनमा शर्माले पुष्पराज पौड्याललाई वारेस दिएर मनोनयन फाराम दर्ताका लागि निर्वाचन समितिमा पठाएका छन् ।
उनको प्रस्तावकमा झापाका उद्धव थापा र सुनसरीका केदार भण्डारी साथै समर्थकमा झापाकै सुधीर सिवाकोटी र देउकुमार थेवे रहेका छन् । कांग्रेसले विधान संशोधन गरेर यसैपटकबाट वरिष्ठ उपसभापति पद थपेको छ । नेविसंघबाट राजनीति यात्रा सुरू गरेका शर्मा सन् २००० देखि २००२ सम्म नेविसंघको केन्द्रीय अध्यक्ष बनेका थिए ।
कांग्रेसको १४औँ महाधिवेशनअघि उनले पार्टीको केन्द्रीय प्रवक्ताको भूमिका सफलतापूर्वक निर्वाह गरेका थिए, जसले उनलाई देशभर थप स्थापित गरायो । प्रखर वक्ताका रूपमा परिचित उनी १४औँ महाधिवेशनमा लोकप्रिय मतसहित महामन्त्री पदमा निर्वाचित भए । गत विशेष महाधिवेशनबाट शरेमाले उपसभापति पदको जिम्मेवारी सम्हाले । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनी झापा(१ बाट भारी मतका साथ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।
