चितवन । रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत पदाधिकारी छनोटको लागि भएको मतदान सकिएको छ। चितवनमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि भएको दोस्रो चरणको मतदान भर्खरै सकिएको हो। निर्वाचनमा १३ सयको हाराहारीमा मत खसेको आयोगले जनाएको छ। मत खसेको डेढ घण्टामा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी छ।
रास्वपा महाधिवेशनमा आइपुग्न २ मिनेट ढिला भएर मतदान हलमा प्रवेश गर्न नपाएका प्रतिनिधिहरु गेटमा धर्ना बसेका छन् । उनीहरुले निर्वाचन आयोगले आफूहरूमाथि अन्याय गरेको भन्दै महाधिवेशनको मतदान हल बाहिर धर्नामा बसेका हुन् । उनीहरुले मतदान गर्न पाउनुपर्ने माग राखेका छन् ।
रास्वपाको उपसभापतिको महिलातर्फ सोविता गौतम र तोसिमा कार्की प्रतिस्पर्धामा छन्। यस्तै, महामन्त्री पदमा १ जनाका लागि विपीन आचार्य, मनिष झा, गणेश कार्की र सागर ढकाल मैदानमा छन्।
सहमहामन्त्री पुरुषतर्फ असिम शाह, रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जैरु, हरि ढकाल, हिमेश पन्त प्रतिस्पर्धामा छन् भने महिला तर्फ जुली यादव विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माले उम्मेदवारी दिएका छन्। रास्वपाले आजै केन्द्रीय कमिटीका नवनिर्वाचित सबै सदस्यहरूको शपथ ग्रहण गर्ने तयारी गरेको छ।
