ढाका । बङ्गलादेशमा राजनीतिक तनाव चुलिँदै जाँदा हिंसात्मक घटना बढेका छन् । पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगले देशव्यापी बन्द ( हडताल ) आह्वान गरेकै बेला राजधानी ढाकाका विभिन्न स्थानमा बम विस्फोट भएका छन् भने पूर्वअन्तरिम सरकार प्रमुख मोहम्मद युनुसको चटगाउँस्थित पैतृक घरमा आगजनी गरिएको छ ।
हिंसाका क्रममा युनुसको ग्रामीण बैंकका विभिन्न शाखा, राजनीतिक दलका कार्यालय तथा नेताहरूका निजी सम्पत्तिमाथि पनि आक्रमण भएको छ । प्रहरीका अनुसार पछिल्ला घटनामा कम्तीमा चार जना घाइते भएका छन् । राजधानी ढाकामा २४ घण्टे सुरक्षा अभियानका क्रममा ५६५ जनालाई पक्राउ गरिएको छ ।
चटगाउँको पञ्चलाइश क्षेत्रमा अज्ञात समूहले युनुसका पिताको घरमा आगो लगाएको हो । यसअघि देशका विभिन्न स्थानमा रहेको ग्रामीण बैंकका शाखाहरूमा पनि आगजनी गरिएको थियो । ढाकामा अवामी लिगका दुई नेताका घरमा आक्रमण र आगजनी भएको छ । त्यस्तै, बंगलादेश नेसनलिस्ट पार्टी ( बीएनपी ) का कम्तीमा दुई कार्यालय र एक नेताको घरमा पनि आगो लगाइएको छ । पछिल्ला दुई दिनमा अवामी लिगका कम्तीमा दुई पार्टी कार्यालय र नेताहरूका पाँचवटा सम्पत्तिलाई समेत निशाना बनाइएको छ । देशका ६४ प्रशासनिक जिल्लामध्ये २८ जिल्लामा सवारीसाधन जलाउने र दर्जनौँ कच्चा बम विस्फोट गराउने घटना भएका छन् ।
किन चर्कियो राजनीतिक तनाव ?
पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगले बिहीबार देशव्यापी बन्दको आह्वान गरेको थियो । गत वर्ष विशेष न्यायाधिकरणले हसिनालाई मानवताविरुद्धको अपराधको आरोपमा अनुपस्थितिमै मृत्युदण्ड सुनाएको घटनाको वार्षिकीको सन्दर्भमा पार्टीले बन्द आह्वान गरेको हो ।
७९ वर्षीया हसिना सन् २०२४ अगस्ट ५ मा विद्यार्थी आन्दोलनका कारण आफ्नो सरकार ढलेपछि बंगलादेश छाडेर भारत पुगेकी थिइन् । बंगलादेश सरकारले भारतसँग उनको सुपुर्दगी माग गर्दै आएको छ । हसिनाले आगामी डिसेम्बरमा जुनसुकै अवस्थामा पनि स्वदेश फर्किने घोषणा गरेपछि राजनीतिक तनाव थप बढेको छ ।
सुरक्षाका लागि व्यापक प्रहरी परिचालन
हिंसा नियन्त्रण गर्न ढाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रमुख फ्लाइओभरहरूमा अतिरिक्त प्रहरी परिचालन गरिएको छ भने राजधानी प्रवेश गर्ने र बाहिरिने नाकामा सवारीसाधन जाँच भइरहेको छ ।
२४ घण्टे अभियानका क्रममा पक्राउ परेकामध्ये हसिना सरकारका पूर्वशिक्षामन्त्री नुरुल इस्लाम नाहिद पनि छन् । संवेदनशील जिल्लाहरू, विशेषगरी गोपालगञ्जमा सीमा सुरक्षा बल ९बिजिबी० का हजारौँ सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यसैबीच प्रधानमन्त्री तारिक रहमानले बीएनपीका सांसदहरूलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा फर्केर पार्टी कार्यकर्ता र समर्थकसँग सक्रिय रहन निर्देशन दिएका छन् ।
अवामी लिगलाई आतंकवादी संगठनको आरोप
प्रधानमन्त्री तारिक रहमानले अवामी लिगलाई आतंकवादी संगठन र फासीवादी शक्ति भन्दै उसको पुनरुत्थानको विरोध गरेका छन् । उनले लोकतान्त्रिक शक्तिहरूलाई एकजुट भएर सन् २०२४ मा जस्तै त्यस्ता शक्तिलाई निर्णायक रूपमा पराजित गर्न आह्वान गरेका छन् ।
उनले बीएनपीका नेताहरूलाई सरकारी संयन्त्रमा मात्रै निर्भर नभई तल्लो तहका कार्यकर्तासँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्न पनि निर्देशन दिएका छन् ।
यसैबीच पश्चिमी नाराइल जिल्लामा अवामी लिगका कार्यकर्ताले गरेको आक्रमणमा सत्तारूढ दलका दुई स्थानीय नेताको मृत्यु भएको छ । फरिदपुर र पिरोजपुरमा भएका हिंसात्मक घटनामा एक बीएनपी नेता र एक यातायात कर्मचारीको पनि ज्यान गएको छ ।
हसिना र युनुसबीचको पुरानो राजनीतिक टकराव
सन् २०२४ अगस्ट ५ मा हसिना सरकार ढलेपछि मोहम्मद युनुसले अन्तरिम सरकारको नेतृत्व सम्हालेका थिए । उनको सरकारले अवामी लिगलाई विघटन गर्नुका साथै पार्टीका हजारौँ नेता तथा कार्यकर्तालाई जेल पठाएको थियो ।
त्यही अवधिमा बङ्गलादेशका संस्थापक नेता तथा हसिनाका पिता शेख मुजिबुर रहमानको ढाकास्थित धनमन्डीको घरमा पटकपटक आगजनी र तोडफोड गरिएको थियो । अन्ततः उक्त घर ध्वस्त पारिएको थियो ।
अहिले युनुसको पैतृक घर र ग्रामीण बैंकका शाखामाथि भएका आक्रमणले बङ्गलादेशको राजनीतिक हिंसालाई थप जटिल बनाएको छ ।
गृहमन्त्री सलाहुद्दिन अहमदले आगजनी र हिंसामा संलग्न व्यक्तिहरूको पहिचान श्रव्यदृश्य प्रमाणका आधारमा गरिने र दोषीमाथि कडा कानुनी कारबाही हुने बताएका छन् ।
बङ्गलादेशमा पूर्वप्रधानमन्त्री हसिनाको सम्भावित स्वदेश फिर्ती, अवामी लिगको राजनीतिक भविष्य र वर्तमान सत्तारूढ दलसँगको टकरावका कारण राजनीतिक अस्थिरता थप गहिरिने चिन्ता बढेको छ ।
