काठमाण्डौं । विपक्षी नेकपा एमालेले जनताको विश्वास र भरोससहित आफ्नो पार्टी पुनः मुलुकको शासन सत्तामा पुग्ने दाबी गरेको छ। अघिल्लो वर्ष भएको जेनजी विद्रोहसँगै सत्ता राजनीतिबाट पाखा परेको एमालेले पार्टीको संगठन सुधार गर्दै पुनः सरकारको नेतृत्व गर्ने दाबी गरेको हो। जेनजी विद्रोहसँगै पार्टीभित्रको आन्तरिक किचलो व्यवस्थापनमा लामो समय खर्चेको एमालेले बुधबार काठमाडौंमा राष्ट्रिय भेला आयोजना सुरु गरेको छ। भेलामार्फत पार्टी एकताको सन्देश प्रवाह भएको बताउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले पुनः सरकारको नेतृत्व गर्ने बताए।
भेलाको उद्घाटन गर्दै उनले आफ्नो पार्टी संघर्षकै मैदानबाट सरकारमा गएको र पुनः सरकारमा जाने बताए। पार्टीका नेता तथा कार्यकर्तालाई संगठन सुदृढीकरणसँगै वर्तमान सरकारविरुद्ध आन्दोलनका लागि तयार रहन पनि निर्देशन दिए। हामी कसैको कृपाले नभई नेपाली जनताको कृपाले गएका थियौं,’ ओलीले भने, ‘अरू कुनै प्रतिक्रियावादी शक्ति, जनविरोधी शक्ति, देशद्रोही शक्तिका कृपा र आशीर्वादमा एमाले सरकारमा गएको होइन। एमाले फेरि सरकारमा जान्छ। कान खोलेर सुने हुन्छ ।’ पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूसहित देशभरिका ३४ सयभन्दा बढी नेता–कार्यकर्ता सहभागी भेलालाई सम्बोधन गर्दै ओलीले पार्टीले सुरु गरेका विकासका अधुरा कामलाई फेरि अघि बढाउने दाबी गरे।
सरकार प्रतिशोधको राजनीतिमा लागेको बताउँदै ओलीले त्यसविरुद्ध आन्दोलनका लागि तयार रहन नेता–कार्यकर्तालाई निर्देशन दिए। ‘आन्दोलन लागि तयार भएर बस्नुस्, कुनै पनि समय सरकारले प्रतिशोध कसैमाथि पनि लिन सक्छ, कसैलाई पनि गिरफ्तार गर्न सक्छ, कसैमाथि हमला गर्न सक्छ,’ उनले भने, ‘यो तिथिविधि मान्ने, संविधान मान्ने, कानुन मान्ने, मर्यादाभित्र बस्ने सरकार होइन।’ सरकार विरुद्ध निकै आक्रामक बनेका ओलीले सरकारविरुद्ध सडकमा उत्रने चेतावनी पनि दिए। ‘एमाले चुप लागेर बस्नेछैन। त्यसबेला ९ओली गिरफ्तार हुँदा० संख्या केही हजारका दरले निस्कियो होला, अब लाखका हिसाबले निस्कन्छ,’ ओलीले भने।
काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा भइरहेका भेला बिहीबार स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारी र पार्टीको आन्तरिक संगठन सुदृढीकरणसहितका विषयमा छलफल गर्दै सकिनेछ। भेलामा केन्द्रीय कमिटीका पदाधिकारी, प्रदेश, जिल्ला र पालिका कमिटीका प्रमुख तथा उपप्रमुख, जनसंगठनका प्रतिनिधि र संघीय तथा प्रदेश सांसदसहित कुल तीन हजार ४१४ जनाको सहभागिता छ।
प्रदेशदेखि टोल तहसम्म निर्वाचन परिचालन कमिटी गठन गरिनेछ। यसअन्तर्गत घरदैलो, डिजिटल प्रचार, स्वयंसेवक परिचालन, स्रोत व्यवस्थापन, कानुनी तथा सुरक्षा, मतदान र मतगणना व्यवस्थापनलगायत उपसमिति बन्नेछन्। प्रत्येक पालिका र वडामा निर्वाचन कार्यालय स्थापना गरी मतदाता विवरण, प्रचार सामग्री र स्वयंसेवक व्यवस्थापन गरिनेछ ।
भेलामा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले सरकारमा रहँदा गरेका कामको १८ पृष्ठ लामो उपलब्धि विवरण प्रस्तुत गरे। पौडेलले प्रस्तुत गरेको कार्यपत्रमा संवैधानिक विकास, आर्थिक–सामाजिक रूपान्तरण, पूर्वाधार, सामाजिक सुरक्षा, सुशासन र परराष्ट्र सम्बन्धका क्षेत्रमा भएका प्रगतिलाई पार्टीका उपलब्धिका रूपमा उल्लेख गरिएको छ।
दस्ताबेज अनुसार २०४७ वैशाख ६ गतेको अन्तरिम सरकारदेखि २०८२ भदौ २४ सम्म एमाले अल्पमतको सरकारमा करिब नौ महिना, बहुमतको सरकारमा करिब तीन वर्ष, अन्य दल सहभागी सरकारको नेतृत्वमा तीन वर्ष ६ महिना र अरू दलको नेतृत्वमा बनेका सरकारमा करिब पाँच वर्ष सहभागी भएको थियो। एमालेले आफू सरकारमा रहेको अवधिका कामको मात्र जिम्मेवारी लिने स्पष्ट पारेको छ ।
एमालेले २०५२ मा ४२ प्रतिशत रहेको निरपेक्ष गरिबी २०८० मा २०।३ प्रतिशतमा झरेको दाबी गरेको छ। मानव विकास सूचकांक ०।४३७ बाट ०।६०२ र प्रतिव्यक्ति आय २०० डलरबाट एक हजार ५३५ डलर पुगेको उल्लेख छ।
कुल गार्हस्थ्य उत्पादन एक खर्ब २० अर्बबाट ६६ खर्ब, वार्षिक बजेट ३१ अर्ब ५५ करोडबाट २१ खर्ब २४ अर्ब र विदेशी मुद्रा सञ्चिति ४३ करोड ७० लाख डलरबाट २६ अर्ब ४८ करोड डलर पुगेको तथ्यांक पनि प्रस्तुत गरिएको छ। मासिक १०० रुपैयाँबाट सुरु भएको वृद्धभत्ता हाल चार हजार पुगी ३६ लाख नागरिक लाभान्वित भएको दस्ताबेजमा उल्लेख छ। सामाजिक सुरक्षा कोषमा ३१ लाख श्रमिक जोडिएको, साक्षरता दर ३९।६ बाट ७६।२ प्रतिशत र औसत आयु ५५ बाट ७२ वर्ष पुगेको तथा स्वास्थ्य बिमामा ८० लाख नागरिक आबद्ध भएको पनि एमालेको दाबी छ ।
सडक सञ्जाल आठ हजार ३२८ किलोमिटरबाट एक लाख १० हजार किलोमिटर पुगेको, विद्युत् जडित क्षमता २२७ मेगावाटबाट चार हजार १२० मेगावाट र विद्युत् पहुँच १० बाट ९९ प्रतिशतमा पुगेको दस्ताबेजमा उल्लेख छ। गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, विभिन्न सुरुङमार्ग, रेल सेवा, पेट्रोलियम पाइपलाइन तथा सडक र झोलुंग पुल निर्माणलाई पनि उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ। नेकपा एमालेले २०४७ सालयता विभिन्न समयमा सरकारमा सहभागी हुँदा देश र जनताको पक्षमा गरेका महत्वपूर्ण कार्य तथा उपलब्धिहरूको सार्वजनिक गरेको छ। जारी राष्ट्रिय भेलामा उपाध्यक्ष विष्णु पौडेलले एमालेले संविधान निर्माणदेखि सामाजिक सुरक्षा, भौतिक पूर्वाधार, शिक्षा–स्वास्थ्य र अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढीकरणमा खेलेको भूमिकालाई प्रमुख सफलताका रूपमा प्रस्तुत गरेका हुन्। एमालेले आफूले नेतृत्व गरेको र सहभागी भएको सरकारका कामको मात्र जिम्मेवारी लिने तर समग्र ३५ वर्षको जिम्मेवारी नलिने स्पष्ट पारेको छ।
जसअन्तर्गत २०४७ वैशाख ६ गतेको अन्तरिम सरकारदेखि २०८२ फागुन २४ सम्म पार्टी अल्पमतको सरकारमा करिब ९ महिना, बहुमतको सरकारमा करिब ३ वर्ष, अरू दल सहभागी सरकारको नेतृत्वमा करिब ३ वर्ष ६ महिना र अरू दलको नेतृत्वमा करिब ५ वर्ष सहभागी रहेको उल्लेख गरेको छ। विगत तीन दशकमा देशको आर्थिक परिसूचकहरूमा सकारात्मक परिवर्तन आएको एमालेको निष्कर्ष छ। २०५२ सालमा ४२ प्रतिशत रहेको निरपेक्ष गरिबी २०८० सम्म आइपुग्दा २०।३ प्रतिशतमा झरेको दाबी गरिएको छ।
यस्तै, २०४७ मा प्रतिव्यक्ति आय २०० अमेरिकी डलर रहेकोमा अहिले १५३५ डलर पुगेको र कुल ग्राहस्थ्य उत्पादन १ खर्ब २० अर्बबाट बढेर ६६ खर्ब पुगेको छ भने नेपाल मध्यमस्तरीय मानवीय विकासको सूचीमा उक्लिएको पौडेलले उल्लेख गरेका छन्। यस्तै, एमाले सरकारको पहिचान बनेको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत २०५२ मा १०० रुपैयाँबाट सुरु भएको ज्येष्ठ नागरिक भत्ता अहिले मासिक ४,००० रुपैयाँ पुगेको जनाइएको छ। हाल ३६ लाखभन्दा बढी नागरिकले यो सुविधा लिइरहेका बताउँदै ३१ लाख श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराइएको दाबी गरिएको छ।
यस्तै, एमालेले भौतिक पूर्वाधारको क्षेत्रमा पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति भएको जनाएको छ। २०४७ मा ८ हजार ३ सय किमी रहेको सडक सञ्जाल अहिले १ लाख १० हजार किमी पुगेको उल्लेख गरिएको छ। यस्तै, नागढुङ्गा, सिद्धबाबा र काठमाडौं–निजगढ द्रुतमार्गका सुरुङहरूसँगै नेपाल सुरुङ युगमा प्रवेश गरेको दस्तावेजमा उल्लेख छ। पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका छन् भने जयनगर–जनकपुर रेल सेवा सुरु भएको पनि उल्लेख गरेको छ।
यस्तै, ऊर्जा क्षेत्रमा विद्युत् उत्पादन २२७ मेगावाटबाट बढेर ४,१२० मेगावाट पुगेको उल्लेख गर्दै ९९ प्रतिशत नागरिकमा विद्युत्को पहुँच पुगेको र लोडसेडिङ अन्त्य भई भारततर्फ ३,७७७ गिगावाट घण्टा विद्युत निर्यात भइरहेको दाबी गरिएको छ। यस्तै, एमालेले साक्षरता दर ३९।६ प्रतिशतबाट बढेर ७६।२ प्रतिशत पुगेकोलाई पनि पार्टीको उपलब्धीको रुपमा उल्लेख गरेको छ। प्राथमिक तहका विद्यार्थीका लागि दिवा खाजा र छात्राहरूका लागि निःशुल्क स्यानिटरी प्याडको व्यवस्था गरिएको बताइएको छ।
यस्तै, स्वास्थ्य क्षेत्रमा औसत आयु ५५ वर्षबाट बढेर ७२ वर्ष पुगेको उल्लेख गर्दै सरकारी सेवा प्रवाहलाई सरल बनाउन ‘नागरिक एप’ र राष्ट्रिय परिचयपत्रसहितको ‘डिजिटल नेपाल फ्रेमवर्क’ कार्यान्वयनमा ल्याइएको जनाइएको छ। यस्तै, २०७२ को विनाशकारी भूकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकारणमार्फत करिब ८ लाख निजी आवास र ऐतिहासिक धरहरा तथा रानीपोखरीको पुनर्निर्माण सम्पन्न गरिएको दस्तावेजमा उल्लेख छ।
त्यस्तै, एमालेले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालको नयाँ राजनीतिक नक्सा जारी गर्नुका साथै भारतसँगको नाकाबन्दीको सम्मानजनक समाधान र चीनसँग पारवहन सम्झौता गरी नेपाललाई ‘भू–परिवेष्ठित’बाट ‘भू–जडित’ राष्ट्रमा बदल्ने आधार तयार पारिएको उल्लेख गरेको छ।
