विराटनगर । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो अन्तिम ‘क्रमभंग’का लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन्। शुक्रबार विराटनगरमा आयोजित कोसी प्रदेशस्तरीय एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले आफू ‘क्रमभंग’ गर्दै आएको र अब अन्तिम ‘क्रमभंग’को तयारीमा रहेको बताए। उनले नेकपाको आउँदो महाधिवेशनबाट अर्को ‘क्रमभंग’ उद्घोष गरे।
‘हामी जस्तोसुकै क्रमभंग गर्न तयार भएका मान्छे हौँ, क्रमभङ्ग गर्दै आएको हो,’ प्रचण्डले कार्यकर्तालाई उत्साहित पार्दै भने, ‘महाधिवेशनमा अर्को क्रमभंग गरिन्छ, तपाईंहरू बोल्डली अगाडि आउनुस्।’ नेकपाले आउँदो मंसिर ११ देखि १५ गतेसम्म एकता महाधिवेशन गर्ने प्रस्ताव गरेको छ। त्यसका लागि भदौ १५ सम्म वडा अिधवेशन र भदौ मसान्तसम्म पालिका अधिवेशन गर्ने मिति तोकेको छ।
प्रचण्डले अहिले सामाजिक सञ्जालमा गाली गर्ने क्रम चलिरहेको भए पनि नडराउन कार्यकर्तालाई सचेत गराए। आलोचना र गालीलाई आफूले सामान्य रुपमा लिएको सुनाउँदै जुनसुकै बेला पनि ‘क्रान्तिकारी’ निर्णय लिन सक्ने बताए।
‘नहिचकिचाइकन, नडराइकन, भ्रममा नपरीकन अगाडि आउनु र हेर्नुस् क्रमभंग कस्तो हुँदो रहेछ,’ उनले थपे, ‘प्रचण्डको अन्तिम क्रमभंग हेरेर अगाडि बढ्नुस्।’उनले त्यसको संकेत पनि दिएका छन्। अहिले समाजवादी मोर्चामा भएका दलहरूसँग एकता गर्ने बताए। त्यससँगै नेकपा ९एमाले०सँग सहकार्य गर्ने तयारी भइरहेको पनि उनले खुलाए। हामी समाजवादी मोर्चामा भएकाहरूसँग एकता छिट्टै हुँदै छ र नेकपा ९एमाले० सँग सहकार्य हुँदै छ,’ एमालेसँगको सहकार्यबारे बोल्दै प्रचण्डले थपे, ‘संसद्मा सहकार्य, सडकमा सहकार्य र आउने प्रदेश र स्थानीय तहको चुनावमा सहकार्यको सहमति हुँदै छ।’
एमालेसँग तत्कालै एकतामा नगएर सहकार्यमा जाने उनको भनाइ थियो। एमालेसँगको सहकार्यले कम्युनिस्टलाई नयाँ ठाउँमा पुर्याउन सकिने उनको आकलन छ। ‘अहिले एमालेसँग तत्कालै एकताको कुरा हामीले गरेका छैनौँ, सहकार्य संसदीय संघर्षमा, सडक संघर्षमा र चुनावमा सहकार्य गर्दा नयाँ ठाउँमा पुर्याउन सकिन्छ,’ प्रचण्डले भने।
उनले वामपन्थी शक्तिसँगको सहकार्यले शक्ति प्राप्त हुने उनको ठम्याइ थियो। ‘संसदमा हामी एउटा शक्तिको साथ उपस्थित हुन सकिन्छ,’ उनले भने, ‘दोस्रो हामीले भनेका छौँ सहकार्य वामपन्थीहरूसँग।’ उनले अहिलेको सरकार नवउदारवादी र फासिस्ट शैलीमा अगाडि बढिरहेको आरोप लगाए। सुकुम्वासी बस्तीमा डोजर चलाउने, सीमा क्षेत्रमा सय रुपैयाँको मापदण्ड लगाउने कार्यलाई उनले उदाहरणका रुपमा प्रस्तुत गरे।
‘सीमानामा सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार असुल्ने र गरिब सुकुम्वासीका बस्तीहरू भत्काएर रास्वपाले आफ्नो असली पहिचान देखाएको छ,’ प्रचण्डले भने, ‘उनीहरू आफ्नै गलत हर्कतका कारण जनताको नजरमा गिर्दै गएका छन्।’
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० प्रदेश संरचना र संविधानलाई खारेज गर्ने खेलमा लागेको उनको आरोप थियो। त्यसका विरुद्ध लड्नका लागि पनि वामपन्थी शक्तिबीच सहकार्य आवश्यक रहेको उनले बताए। उनले प्रश्न गरे, ‘अब हामी जाग्ने कि नजाग्नेरु साँच्चैको कम्युनिस्ट बन्ने कि नबन्नेरु’ त्यसैले आफू अन्तिम ‘क्रमभंग’ गर्ने तयारीमा रहेको बताए। त्यसका लागि तयार रहन उनले कार्यकर्तालाई आह्वान गरे।
