मकवानपुर । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराईरमधेस द्रुतमार्गअन्तर्गत मकवानपुर महादेवटार सुरुङको ३ हजार ४५५ मिटर बुधबार ‘ब्रेकथ्रु’ गरेका छन्। समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली सेनाले आफ्नो संवैधानिक दायित्व र राष्ट्रिय सुरक्षासम्बन्धी जिम्मेवारी निर्वाह गर्नुका साथै राष्ट्रनिर्माण तथा विकासका क्षेत्रमा पनि महत्वपूर्ण योगदान गरेको बताए।
‘विशेष गरी विकट भौगोलिक अवस्था, जटिल भूबनोट तथा प्रतिकूल परिस्थितिका बाबजुद राष्ट्रिय महत्त्वका सडक तथा पूर्वाधार निर्माणमा नेपाली सेनाले लामो समयदेखि गर्दै आएको व्यावसायिक दक्षता, कार्यकुशलता र राष्ट्रप्रतिको समर्पण प्रशंसनीय एवम् अनुकरणीय छ’, राष्ट्रपति पौडेलले भने।
राष्ट्रिय गौरवको आयोजनाको ट्र्याक निर्माणदेखि विशेष प्रकृतिका सुरुङ, पुलसहित देशकै पहिलो द्रुतमार्ग निर्माणमा नेपाली सेना अहोरात्र क्रियाशील रहेको र काठमाडौँ उपत्यकालाई तराईरमधेससँग प्रत्यक्ष रूपमा जोड्ने करिब ७१ किलोमिटरको अत्याधुनिक प्रविधिमा आधारित यस द्रुतमार्गको निर्माण सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने विश्वास राष्ट्रपतिले व्यक्त गरे।
‘यो आयोजना सञ्चालनबाट यात्रा समय तथा दुरीमा उल्लेखनीय कटौती हुनुका साथै इन्धन खपत र सवारीसाधनको सञ्चालन तथा मर्मतसम्भार खर्चमा पनि उल्लेख्य बचत हुने नै छ, राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदानमार्फत देशको आर्थिक, सामाजिक रूपान्तरणमा अहम् भूमिका निर्वाह गर्ने यो आयोजना समयमा नै सम्पन्न गर्न नेपाल सरकार तथा नेपाली सेना दृढ रहेको पाएको छु’, राष्ट्रपति पौडेलले भने।
यस आयोजनाको महत्त्व केवल भौतिक पूर्वाधार निर्माणमा सीमित नरहेको उल्लेख गर्दै उनले यसले राजधानी काठमाडौँ र तराईरमधेसबिचको भौगोलिक दूरी घटाउनुका साथै सामाजिक सद्भाव, आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरे।
‘पर्यटन प्रवर्द्धन, व्यापार तथा पारवहन सहजीकरण, क्षेत्रीय आर्थिक गतिविधिको विस्तार र दिगो विकासका लक्ष्य प्राप्तिमा यस आयोजनाको योगदान दूरगामी र महत्त्वपूर्ण रहने अपेक्षा गरेको छु, त्यसैले, यो आयोजना निर्माणका लागि कुनै पनि कसर बाँकी नराखी प्रभावकारी समन्वय तथा आआफ्नो जिम्मेवारी पूर्ण प्रतिबद्धताका साथ निर्वाह गर्दै नेपाली सेनालाई सबैको सहयोग रहने विश्वास गरेको छु’, उनले भने।
कार्यक्रममा बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, पूर्वाधार विकास मन्त्री सुनील लम्साल, नेपालस्थित चीनका राजदूत चाङ माओमिङ तथा कोरियाका राजदूत पार्क जे क्यूङ र प्रधान सेनापति अशोकराज सिग्देललगायतको पनि सहभागिता थियो। यसअघि गत भदौमा बायाँ ट्युब ‘ब्रेकथ्रु’ भएको थियो। आज दायाँ ट्युबको ‘ब्रेकथ्रु’ भएसँगै आयोजनाको सबैभन्दा लामो महादेवटार सुरुङमार्ग छिचोल्ने काम सम्पन्न भएको छ। द्रुतमार्गमा ११।२ किलोमिटरका सातावटा सुरुङमार्ग निर्माण भइरहेका छन्।
यसअघि १ हजार ६९१ मिटरको धेद्रे सुरुङ र १ हजार ६२३ मिटरको लेनडाँडा सुरुङ ‘ब्रेकथ्रु’ भइसकेका छन्। अब २ हजार २३७ मिटरको चन्द्राम भीर सुरुङ, १ हजार मिटर देवीचौर सुरुङ, ३९० मिटर सिसौटार सुरुङ र ५८३ मिटर मौरी भीर सुरुङ ‘ब्रेकथ्रु’ हुन बाँकी छ। ‘ब्रेकथ्रु’ हुन बाँकीमध्ये मौरीभीर सुरुङको ठेक्का लाग्न बाँकी छ। २०७४ वैशाख २१ गते सरकारले ४ वर्षभित्र निर्माणसम्पन्न गर्ने गरी द्रुतमार्ग सडक निर्माण व्यवस्थापनको जिम्मेवारी सेनालाई सुम्पेको थियो।
२०८३ भदौ मसान्तसम्म द्रुतमार्गको भौतिक प्रगति ५० प्रतिशत र वित्तीय प्रगति ५१।४७ प्रतिशत हासिल भएको सेनाले जानकारी दिएको छ। द्रुतमार्ग निर्माण गर्नुपर्ने पछिल्लो म्याद २०८३ चैतसम्म थियो। उक्त समयमा निर्माण सम्पन्न नहुने देखिएपछि गत साउन २० गतेको मन्त्रिपरिषद् बैठकले द्रुतमार्गको म्याद थप तीन वर्ष अर्थात् २०८६ चैतसम्म पुर्याइएको छ।
