काठमाडौं। इशान पाण्डे र कप्तान रोहितकुमार पौडेलको सानदार ब्याटिङसँगै नेपालले आइसीसी क्रिकेट विश्वकप लिग २ मा दुई स्थान फड्को मारेको छ। सोमबार सम्पन्न खेलमा नेपालले स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको हो। जितसँगै २७ खेल खेलेको नेपालले २२ अंक पुर्याएको छ। योसँगै नेपालले नामिबिया र क्यानडालाई पनि उछिनेको छ। एक खेल बढी खेलेको नामिबियाको २२ र तीन खेल कम खेलेको क्यानडाको २१ अंक छ।
स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाउँदै १९९ रन बनाएको हो। नेपालका कप्तान रोहितले अविजित ७४ रन बनाए। ९८ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे। तेस्रो नम्बरमा आएका इशानले उनीसँग तेस्रो विकेटका लागि १०४ रनको साझेदारी गरेका थिए।
६१ बल खेलेका इशानले ५ चौका र २ छक्कासहित ५५ रन बनाए। ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ५८ रनको ओपनिङ साझेदारी गरेका थिए । कुशल २८ र आसिफ २९ रनमा आउट भए । त्यसपछि नेपालको ब्याटिङ रोहित र इशानले सम्हालेका थिए । उपकप्तान दीपेन्द्रसिंह ऐरी २ रनमा आउट हुँदा आरिफ शेख ८ रनमा अविजित रहे । बलिङमा स्कटल्याण्डका मार्क वाटले २ र ब्रेन्डन म्याकमुलेनले एक विकेट लिए ।
