काठमाण्डौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जेनजी आन्दोलनमा जलाइएको सिंहदरबारको एउटा भवन बनाउन अनुमति मागेका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद साम्पाङले श्रमदानबाटै सिंहदरबारभित्रको भवन बनाउने बताएका हुन्। ‘
विगतमा जेनजी आन्दोलनमा जलेको सिंहदरबारका भवनहरूमध्ये कुनै एउटा भवनको एउटा सानो हिस्सा श्रम संस्कृति पार्टीलाई बनाउन अनुमति दिनुस्। हामी श्रमदान गरेर बनाउनेछौँ,’ साम्पाङले भने।
प्रतिनिधि सभामा आर्थिक वर्ष २०८३/ ८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धी छलफल चलिरहेको छ। त्यही क्रममा उनले सुनसरी लगायत देशका विभिन्न जिल्लाका विकास निर्माणका योजनाका लागि बजेट विनियोजन गर्न माग गरेका छन्।
