काठमाडौं। ब्याटिङमा दीपेन्द्रसिंह ऐरीको शतक र बलिङमा लेग स्पिनर सन्दीप लामिछानेको ऐतिहासिक १०० विकेट कायम भएको दिन नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ मा युएईमाथि रोमाञ्चक जित निकालेको छ। दीपेन्द्रसिंह ऐरीको शतकसँगै नेपालले आइसिसी विश्वकप लिग–२ मा संयुक्त अरब इमिरेट्स ९युएई० माथि रोमाञ्चक जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रबार भएको सनसनीपूर्ण खेलमा नेपालले युएईलाई ६ रनले हरायो । यो जितसँगै सिरिजमा नेपाल युएईलाई दुवै खेलमा हराउन सफल भयो । नेपालले यसअघि पहिलो खेलमा युएईलाई ३७ रनले हराएको थियो । वर्षाले प्रभाविक खेलमा जितका लागि ३८ ओभरमा दुई सय ५५ रनको लक्ष्य पछ्याएको युएईले निर्धारित ओभरमा आठ विकेटको क्षतिमा दुई सय ४८ रन मात्र बनाउन सक्यो ।
युएईका लागि मोहम्मद शाहदादले अर्धशतकीय इनिङ्स खेल्नुभयो । ६५ रन बनाउनुभएको उहाँले ७२ बलमा चार चौक र दुई छक्का हान्नुभयो । यस्तै खुजैमा तनवीरले ४९, हरप्रीत सिंहले ४१, अक्षदीप नाथले अविजित ३६, ओपनर आर्यन शर्माले ३३ र अदीब उस्मानीले १४ रन बनाउनुभयो ।
बलिङमा नेपालका सन्दीप लामिछानेले तीन विकेट लिनुभएको छ । सन्दीप एक दिवसीय ९लिग–२० मा एक सय विकेट पूरा गर्ने खेलाडीसमेत बन्नुभएको छ । यससँगै उहाँको एक दिवसीय विकेट एक सय दुई पुगेको छ । यस्तै सोमपाल कामी र नन्दन यादवले दुई दुई विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा दुई सय ८९ रन बनाएको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङ्स खेल्नुभयो । दीपेन्द्रले सर्वाधिक सय रन बनाउनुभएको हो । उहाँले ९४ बलमा १३ चौका र एक छक्का हान्नुभयो ।
