काठमाण्डौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट ३५ वर्षमुनिका सात जना युवा केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। कांग्रेसको चार वर्षे कार्यकालकामा युवा क्लस्टरअन्तर्गत खुलातर्फ सात जना निर्वाचित भएका हुन्। यस समूहबाट केन्द्रीय सदस्य बन्न २७ जनाबीच प्रतिस्पर्धा भएको थियो।
निर्वाचित हुनेमा इन्जिनियर अभिषेक आत्रेय, आदर्श मल्ल, डा आयुष बगाले, इन्जिनियर शैलेष मिश्र, सचिन तिमल्सेना, इन्जिनियर रोशन बस्नेत र सुशील भट्ट रहेका छन्। मतपरिणामअनुसार सचिन तिमल्सेनाले सर्वाधिक ३ हजार १५६ मत प्राप्त गरेका छन्। त्यस्तै, अभिषेक आत्रेयले २ हजार ८१३, सुशील भट्टले २ हजार ७८३, डा। आयुष बगालेले २ हजार ५७५, आदर्श मल्लले २ हजार ५६०, रोशन बस्नेतले २ हजार २७१ र शैलेष मिश्रले २ हजार १३३ मत प्राप्त गरेका छन्।
नेपाली कांग्रेसले ३५ वर्षमुनिका युवालाई केन्द्रीय सदस्यमा निर्वाचित गर्ने व्यवस्था पहिलोपटक विधानमा गरेको हो। युवा क्लस्टरको व्यवस्थामार्फत पार्टीको केन्द्रीय नेतृत्वमा युवा पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रयास गरिएको छ।
