काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) की प्रमुख सचेतक खुस्बु ओलीले कानून निर्माणका लागि संसदमा प्रभावकारी छलफल हुन नसकेको बताएकी छन् । बिहीबार काठमाडौँमा सञ्चारकर्मीसँगको छलफलमा ओलीले पुराना कानूनका आधारमा काम गर्नुपर्दा नीतिगत अवरोधहरू देखिने गरेको बताइन् । कानून निर्माणको प्रक्रियामा पर्याप्त छलफल हुन नसक्दा आवश्यक सुधारसमेत प्रभावित भएको उनको भनाइ छ ।
उनले कानून निर्माणका क्रममा प्रतिपक्षी सांसदहरूले पेस गरेका संशोधन प्रस्ताव अस्वीकृत हुने संसदीय अभ्यास रहेको उल्लेख गर्दै सत्तापक्षका सांसद हरूले पेस गरेका संशोधनसमेत अस्वीकृत हुने अवस्थाले कानून निर्माणको प्रक्रियामाथि प्रश्न उठाएको बताइन् । कानूनलाई प्रभावकारी र समयसापेक्ष बनाउन सदनमा पर्याप्त बहस हुनुपर्नेमा जोड दिँदै उनले सत्तापक्ष र प्रतिपक्ष मिलेर कानून निर्माण प्रक्रियालाई परिमार्जित गर्नुपर्ने धारणा राखिन् ।
ओलीले कानून निर्माणसम्बन्धी छलफलका लागि संसदमा समय बढाउनुपर्ने पनि बताइन् । सामान्यतया दुई–तीन मिनेटमै विषय टुङ्ग्याउने वा एकै दिनमा चार–पाँचवटा विधेयकमाथि सतही छलफल गर्ने अभ्यासले पर्याप्त बहस हुन नसक्ने उनको भनाइ छ ।
कानून निर्माणजस्तो महत्त्वपूर्ण विषयमा हतारमा निर्णय गर्नुभन्दा सांसदहरूलाई विषयवस्तुमाथि गहन छलफल गर्ने पर्याप्त समय उपलब्ध गराउनुपर्नेमा उनले जोड दिइन् ।