इस्लामावाद । इरानले आणविक हतियार विकास नगर्नेलगायतका अमेरिकी सर्तहरू अस्वीकार गरेपछि दुई देशबिचको वार्ता कुनै सम्झौता बिना समाप्त भएको छ।आइतबार अमेरिकी उपराष्ट्रपति जेडी भान्सले २१ घण्टाको लामो र गहन छलफलपछि पनि कुनै ठोस नतिजा ननिस्किएको जानकारी दिए। भान्सले पत्रकारहरूसँग कुरा गर्दै भने, ‘साधारण तथ्य यो हो कि हामीले सकारात्मक प्रतिबद्धता देख्नु आवश्यक छ कि उनीहरूले आणविक हतियार खोज्ने छैनन्। त्यो संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिको मुख्य लक्ष्य हो र हामीले यही हासिल गर्ने प्रयास गरेका थियौं।’
उनले वार्ताका क्रममा आफू राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य उच्च अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको पनि बताए। अमेरिकाले इरानको आणविक कार्यक्रममा पूर्ण प्रतिबन्ध र हर्मुज जलमार्ग पुनः खोल्नुपर्ने माग राखेको थियो। उता, इरानले भने युद्धको क्षतिपूर्ति र जम्मा गरिएको सम्पत्ति फिर्ता गर्नुपर्ने अडान लिएको थियो। भान्सका अनुसार अमेरिकाले आफ्ना ‘रेड लाइन’ स्पष्ट पारेको थियो। तर इरानी पक्षले ती सर्तहरू स्वीकार गरेन। उनले भने, ‘हामी यहाँबाट एक धेरै सरल प्रस्ताव लिएर निस्कन्छौं, जुन हाम्रो अन्तिम र उत्तम प्रस्ताव हो। हामी हेर्नेछौं कि इरानीहरूले यसलाई स्वीकार गर्छन् कि गर्दैनन्।’
लेबनानमा इजरायली आक्रमण र हर्मुज जलमार्गको नाकाबन्दीले वार्तालाई थप जटिल बनाएको थियो। इरानले लेबनानमा आक्रमण रोक्न माग गरेको थियो भने अमेरिकाले जलमार्ग खुला गर्नुपर्नेमा जोड दिएको थियो। वार्ता जारी रहँदा राष्ट्रपति ट्रम्पले भनेका थिए, ‘हामीले सम्झौता गरौं या नगरौं, मलाई कुनै फरक पर्दैन।’ यसैबिच, अमेरिकी सेनाले हर्मुज जलमार्गमा बारुदी सुरुङ सफा गर्ने काम सुरु गरेको दाबी गरेको छ, जसलाई इरानले अस्वीकार गरेको छ।
सन् १९७९ को क्रान्तिपछिको यो दुर्लभ उच्चस्तरीय प्रत्यक्ष भेटघाट भए पनि दुवै पक्षबिचको ‘गहिरो अविश्वास’ का कारण शान्ति सम्झौता हुन सकेन। अब यो युद्धविराम कायम रहने वा युद्ध फेरि सुरु हुने भन्ने कुरा अनिश्चित बनेको छ। एजेन्सी
