इस्लामावाद । इरानले पनि इस्लामाबादमा अमेरिकासँगको वार्ता बिना कुनै सम्झौता समाप्त भएको बताएको छ। इरानी समाचार एजेन्सी तस्निमका अनुसार अमेरिकी सर्तहरू अत्यधिक कडा थिए र त्यसैले सम्झौता हुन सकेन। इरानको प्रेस टिभीका अनुसार विवादको मुख्य मुद्दाहरूमा हर्मुजको जलमार्गबाट जाने अधिकार र इरानको आणविक अधिकार समावेश छ।
यस्तै, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि २१ घण्टाको लामो र गहन छलफलपछि पनि कुनै ठोस नतिजा ननिस्किएको जानकारी दिए। भान्सले पत्रकारहरूसँग कुरा गर्दै भने, ‘साधारण तथ्य यो हो कि हामीले सकारात्मक प्रतिबद्धता देख्नु आवश्यक छ कि उनीहरूले आणविक हतियार खोज्ने छैनन्। त्यो संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिको मुख्य लक्ष्य हो र हामीले यही हासिल गर्ने प्रयास गरेका थियौं।’
अमेरिकाले इरानको आणविक कार्यक्रममा पूर्ण प्रतिबन्ध र हर्मुज जलमार्ग पुनः खोल्नुपर्ने माग राखेको थियो। उता, इरानले भने युद्धको क्षतिपूर्ति र जम्मा गरिएको सम्पत्ति फिर्ता गर्नुपर्ने अडान लिएको थियो।
