काठमाण्डौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुशासन, आर्थिक विकास र नेपाली जनताको जीवनस्तर सुधार गर्नु आफ्नो सरकारको प्रमुख लक्ष्य रहेको बताएका छन्। आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँगको सामूहिक भेटघाटमा प्रधानमन्त्री शाहले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्।
अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिहरूसामु उनले सरकार नेपाली जनताको हितमा परिणाममुखी काम गर्न दृढ रहेको बताएका हुन्। विकास साझेदारहरू सँगको सम्बन्धलाई अर्थपूर्ण बनाउने जोड दिँदै प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिबारे प्रकाश पारेका थिए।छिमेकी, मित्र राष्ट्र र विकास साझेदारहरूसँग विश्वास, पारस्परिक सम्मान र साझा समृद्धिमा आधारित सम्बन्धलाई हामी अझ प्रगाढ बनाउन चाहन्छौं,’ प्रधानमन्त्रीले भने।
यसका साथै, प्रधानमन्त्री शाहले विदेशमा पसिना बगाइरहेका नेपाली श्रमिकहरूको हकहितको विषयलाई पनि कूटनीतिक नियोगका प्रमुखहरूसामु उठाएका छन्। उनले शान्ति सबैको साझा प्राथमिकता हुनुपर्ने भन्दै विदेशमा रहेका नेपाली श्रमिक तथा समुदायको सुरक्षा र हित नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको जानकारी गराए। भेटमा सहभागी राजदूत एवं नियोग प्रमुखहरूले प्रधानमन्त्री शाहलाई सफल कार्यकालको बधाई तथा शुभकामना दिएका थिए। उनीहरूले नेपाली जनताको हित र जीवनस्तर उकास्ने नेपाल सरकारको लक्ष्यमा आफ्नो तर्फबाट पूर्ण समर्थन र सहयोग रहने प्रतिबद्धता जनाएका छन्।
उक्त सामूहिक भेटमा भारत, चीन, अमेरिका, बेलायत, पाकिस्तान, कोरिया गणराज्य, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बङ्गलादेश, जर्मनी, इजिप्ट, श्रीलङ्का, साउदी अरेबियाका राजदूत तथा संयुक्त राष्ट्र सङ्घका नियोग प्रमुखको उपस्थिति थियो। छलफलमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह, मुख्यसचिव सुमनराज अर्याल र परराष्ट्र सचिव अमृतबहादुर राईलगायतका उच्च सरकारी अधिकारीहरूको पनि सहभागिता रहेको थियो।
