काठमाण्डौं । गत बिहीबारदेखि बन्द रहेका अधिकांश सरकारी वेबसाइट तथा अनलाइन प्रणाली पुनः सञ्चालनमा आएका छन् । दशैंको लामो बिदापछि सोमबारदेखि खुलेका सरकारी कार्यालयमा अनलाइन प्रणाली सञ्चालनमा आएसँगै सेवाग्राहीले नियमित सेवा लिन थालेका छन् । यद्यपि, काठमाडौं महानगरपालिकाका वडा कार्यालयहरूमा भने अनलाइन सिफारिस प्रणालीको समस्या पूर्ण रूपमा समाधान भएको छैन ।
काठमाडौं महानगरपालिका–३१ का वडासचिव सुरेश साहु श्रेष्ठका अनुसार अनलाइन प्रणाली नचल्दा सिफारिससम्बन्धी काम गर्न कठिनाइ भइरहेको छ । सेवाग्राहीको काम नरोकियोस् भनेर कम्प्युटरमा विवरण टाइप गरी प्रिन्ट गरेर सिफारिस दिने व्यवस्था मिलाइएको उनले बताए । विश्वभर वेबसाइट निर्माणमा प्रयोग हुने प्रोग्रामिङ भाषा ‘पीएचपी’ मा गम्भीर सुरक्षा जोखिम देखिएपछि नेपालका अधिकांश सरकारी वेबसाइट तथा अनलाइन प्रणाली गत बिहीबारदेखि अस्थायी रूपमा बन्द गरिएका थिए ।
सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र ( एसडिओसी ) ले सुरक्षा सूचना जारी गर्दै सम्भावित साइबर आक्रमण र डेटा क्षति रोक्न सावधानीस्वरूप ती प्रणाली अफलाइन राखिएको जनाएको थियो । पीएचपीमा देखिएको प्राविधिक तथा सुरक्षा कमजोरीका कारण सयौँ सरकारी वेबसाइट अस्थायी रूपमा बन्द गरिएका थिए । सुरक्षा अपडेट र परीक्षणपछि अधिकांश सरकारी वेबसाइट तथा अनलाइन सेवा पुनः सञ्चालनमा आएको जनाइएको छ । तर, काठमाडौं महानगरपालिकाका वडा कार्यालयमा देखिएको समस्याले सबै सेवा पूर्ण रूपमा नियमित भइनसकेको देखाएको छ ।
