काठमाण्डौं । नेपाल प्रिमियर लिग ( एनपीएल ) को तेस्रो संस्करण आज सोमबारदेखि सुरु हुदैछ। उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्दै छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल अपरान्ह ५ बजेदेखि सुरु हुनेछ। लुम्बिनी रोहित पौडेल र सुदुरपश्चिम दिपेन्द्रसिंह ऐरिको कप्तानीमा मैदानमा उत्रनेछ।
एनपीएलका लागि सम्पूर्ण तयारी पूरा भइसकेको नेपाल क्रिकेट संघ ( क्यान ) ले जनाएको छ। तेस्रो सिजनको उपाधि विजेताले डेढ करोड रुपैयाँ पुरस्कार पाउनेछ। उपविजेता टोलीले ८० लाख तथा तेस्रो हुने टोलीले ४० र चौथो स्थानमा रहने टोलीले ३० लाख रुपैयाँ पाउनेछन्। एनपीएलको समयमा क्यानले १ सय ५० करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरेको छ।
क्यानले एनपीएलको प्रायोजकबाट मात्र ३० करोड, टिकेटिङबाट ७० करोड, फ्रेन्चाइट टोलीसहित अन्यबाट गरेर १ सय ५० करोड रुपैयाँभन्दा बढीको कारोबार हुने दावी गरेको हो। एनपीएलका लागि अनुबन्ध गरिएका विदेशी खेलाडीहरु नेपाल आउने क्रम जारी छ। एनपीएलमा विभिन्न शहरका ८ फ्रेन्चाइज टोलीले स्पर्धा गर्नेछन्। एनपीएलमा लुम्बिनी र सुदुरपश्चिमसहित काठमाडौ गोर्खाज, पोखरा एभेन्जर्स, चितवन राइनोज, विराटनगर किंग्स, कर्णाली याक्स र जनकपुर बोल्ट्सले खेल्नेछन्।
एनपीएलमा ८ फ्रेन्चाइज टोलीले लिग चरणका २८ र प्लेअफका ४ गरि कुल ३२ खेल खेल्नेछन्। एनपीएलको तेस्रो संस्करणलाई आइसीसीले मान्यता दिएको छ। यसले गर्दा अब एनपीएलमा खेलाडीले गरेको प्रर्दशन टी–२० र लिष्ट ए मा जोडिनेछ। साथै यही सिजनबाट डिसिजन रिभ्यु सिस्टम ९डिआरएस० प्रविधिको पनि प्रयोग हुदैछ।यसले गर्दा एनपीएल थप रोमाञ्चक बनेको छ। एनपीएल आगामी मंसिर ५ गतेसम्म चल्नेछ।
