काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सांसद मनीष झाले रास्वपा संघीयताविरोधी पार्टी नभएको बताएका छन्। जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले रास्वपा संघीयता विरोधी नभई संघीय संरचनालाई थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउनुपर्ने पक्षमा रहेको बताए।
उनले प्रदेशसभा र प्रदेश परिषद्को अवधारणालाई अघि बढाउँदै संघीयतालाई अझ मजबुत बनाउँदै लैजाने उल्लेख गरे। उनले मधेशमा गत निर्वाचनमा रास्वपाले अत्यधिक मत पाएको उल्लेख गर्दै आगामी स्थानीय तहको निर्वाचनमा पनि एकजुट भएर पार्टीको पक्षमा माहोल बनाउन आग्रह गरे।
झाले भने, ‘हामी संघीयताका विरोधी होइनौँ, हामी संघीयतालाई अझ व्यवस्थित, चुस्त र दुरुस्त बनाउन चाहन्छौँ। हामी एकजुट हुन आवश्यक छ। हामीले एउटा सुसंस्कृत राजनीतिक अभ्यास, अध्ययन, विचार र संस्कारमा आधारित राजनीति गर्दै अघि बढ्नुपर्छ।’ उनले अध्ययन, विचार र संस्कारमा आधारित सुसंस्कृत राजनीतिक अभ्यास आवश्यक रहेको बताए।
