ललितपुर । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास पुनःस्थापित गर्नेगरी पार्टीलाई रूपान्तरण गर्ने बताएका छन्। नेपाली काँग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टी पुरानो इतिहासको ब्याज खाएर मात्र अघि बढ्न नसक्ने स्पष्ट पार्दै जनसरोकारका मुद्दा सम्बोधन गर्न नयाँ इतिहास रच्ने घोषणा गरेका छन्।
पार्टीको १५ औँ महाधिवेशनबाट सभापति पदमा निर्वाचित भएपछि शनिबार सानेपास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शनिवार उनले परम्परागत कार्यशैली बदलेर आजैदेखि काँग्रेसको रूपान्तरण शुरु हुने बताएका हुन्। सभापति थापाले काँग्रेसको गौरवशाली इतिहास भए पनि अब केवल अतीतको महिमामण्डन गरेर बस्ने छुट कसैलाई नभएको प्रष्ट पारे। महाधिवेशनबाट प्राप्त जनमत र ऊर्जा युवा पुस्ताको आकांक्षा सम्बोधन गर्न सदुपयोग गरिने उनको भनाइ छ। सभापति थापाले काँग्रेसलाई समाजका सबै वर्ग र समुदायको साझा प्रतिनिधित्व गर्ने दलका रूपमा स्थापित गर्ने बताए।
थापाले भने, ‘हामी इतिहासको ब्याज खाएर बस्ने होइन, नयाँ इतिहास रच्ने संकल्पका साथ अधिवेशनबाट आएका हौँ। हामी यस्तो काँग्रेस बनाउनेछौँ, जसलाई किसान‚ उद्यमी र वैदेशिक रोजगारीमा गएका नेपालीले आफ्नो भरोसाका रूपमा चिनून्। यस्तो पार्टी भाषणले होइन, कर्मले बनाउनुपर्छ।’पार्टीको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि आज पार्टी कार्यालय सानेपामा कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै उनले प्राप्त जिम्मेवारीलाई अधिकार नभई जवाफदेहिताका रूपमा लिएको बताए।
उनले महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैमा मात्रै पार्टी परिवर्तन नहुने उल्लेख गर्दै काम गर्ने शैली, जिम्मेवारी र जवाफदेहितामा परिवर्तन आवश्यक रहेको बताए। महाधिवेशनमा प्रतिस्पर्धा स्वाभाविक लोकतान्त्रिक अभ्यास भएको उल्लेख गर्दै उनले सभापतिमा प्रतिस्पर्धा गरेका श्यामकृष्ण खड्गीसहित सबैलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
थापाले नागरिक र कांग्रेसबीचको विश्वास कमजोर भएको उल्लेख गर्दै किसान, उद्योगी, व्यवसायी तथा वैदेशिक रोजगारीमा रहेका नेपालीले भरोसा गर्ने पार्टी बनाउनुपर्नेमा जोड दिए। कांग्रेसलाई माया गर्ने शुभेच्छुकलाई पुनःपार्टीसँग जोड्ने र घरघरमा कांग्रेसलाई स्वागत गर्ने वातावरण बनाउन काम गर्ने शैलीमै परिवर्तन गर्नुपर्ने उनको भनाइ छ। महाधिवेशनबाट पारित प्रतिवेदन अध्ययन गरी सुझाव दिन एक साताको समय उपलब्ध गराइएको जानकारी दिँदै उनले सबैको सुझावका आधारमा पहिलो केन्द्रीय कार्यसमिति बैठकबाट कार्ययोजना बनाइने बताए।
