काठमाण्डौं । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका आदिकवि भानुभक्त आचार्य केवल कवि मात्र नभएर नेपाली आत्माको स्वर भएको बताएका छन्। आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीका अवसरमा भानु प्रतिष्ठानले सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा उनले आचार्य राष्ट्रिय विभूति, नेपाली जातीय चेतनाका प्रतीक र जनताका प्रमुख प्रतिनिधि स्रष्टा भएको उल्लेख गरे।
उनले भने, ‘आदिकवि नेपाली चेतनाको आधारशिला र नेपाली भाषाको पहिचान निर्माण गर्ने व्यक्तित्व हुनुहुन्थ्यो। आदिकविका विषयमा खोज अनुसन्धान व्याख्या विश्लेषण र भानु संस्कृति निर्माणमा भानु प्रतिष्ठानको योगदान रहेको छ।’ भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरेर आम नेपालीलाई धर्म, दर्शन, नीति र आदर्शको सहज पहुँच उपलब्ध गराएका सभामुख अर्यालले बताए।
‘साहित्य केवल विद्वान्का लागि होइन, जनताको हृदयमा बस्ने भाषा हो भनी भानुभक्तले सिद्ध गरे, आदिकविको लेखनीले नेपाली भाषालाई घरघरमा पुर्यायो, जनजनमा चेतना जगायो, हाम्रो सांस्कृतिक एकतालाई मजबुत बनायो। नेपालभित्र मात्र होइन नेपाल बाहिर रहेका समस्त नेपालीलाई नेपाली भाषाले नै एकताको सूत्रमा बाँध्ने गरेको छ। भानुभक्तले रामायण दिए। रामायणसहित नेपाली साहित्यले महाकाव्य पायो। त्यही महाकाव्यको क्रम आजसम्म जीवित छ’, उनले भने।
भानुभक्तलाई आजको दिन सम्झनु मात्र होइन, उनको योगदानलाई आत्मसात् गर्दै नेपाली भाषा र साहित्यलाई अझ समृद्ध बनाउने सङ्कल्प लिनु आवश्यक रहेकामा सभामुख अर्यालले जोड दिए। आधुनिक प्रविधि, विश्वव्यापी प्रतिस्पर्धा र बदलिँदो सामाजिक संरचनाबीच नेपाली भाषा, संस्कृति र पहिचानलाई जोगाउनु र उन्नत बनाउनु सबैको सामूहिक जिम्मेवारी भएको उनले बताए।
भानुभक्तले देखाएको मार्ग–सरलता, स्पष्टता, जनतासँगको निकटता आज पनि उत्तिकै सान्दर्भिक रहेको उनको भनाइ छ। युवापुस्तालाई नेपाली भाषा र साहित्यप्रति आकर्षित गर्नुपर्ने, सिर्जनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्नुपर्ने र भानुभक्तको आदर्शलाई समयानुकूल रूपान्तरण गर्दै अघि बढ्नुपर्नेमा सभामुख अर्यालको जोड छ। कार्यक्रममा साहित्यकार महेश्वर शर्मा र डा आना एम स्टिरलाई उनहरुले नेपाली साहित्य क्षेत्रमा गरेमा योगदानका लागि रथारोहण गरी सम्मान गरिएको थियो।
