काठमाडौँ । काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा एकैपटक धेरै स्थानमा बर्डफ्लु फैलिएपछि नियन्त्रणमा कठिनाइ भएको अधिकारीहरूले बताएका छन् । पशु सेवा विभागले सोमबार पशु प्राविधिकहरूको चार टोली परिचालन गरी बर्डफ्लु ( एच फाइभ एन वान ) पुष्टि भएका फार्महरूमा कुखुरा र हाँसहरू नष्ट गरेको जनाएको छ ।
अहिलेसम्म उपत्यकामा ५० भन्दा बढी स्थानमा बर्डफ्लु फैलिइसकेको छ, यो अत्यधिक संख्या हो, विभागका एभियन इन्फ्लुएन्जा नियन्त्रण कार्यक्रम तथा रोग निगरानी कार्यक्रमका प्रमुख वरिष्ठ पशु चिकित्सक डा। मुकुल उपाध्यायले भने, हामी नियन्त्रणको प्रयास गर्दैछौं । उपाध्यायका अनुसार उपत्यकाका कैयन स(साना फार्ममा पनि बर्ड फ्लु देखिएको छ । एभियन इन्फ्लुएन्जा भाइरसहरू ए ९एच फाइभ एन वान०, ए ९एच नाइन एन टु०, ए ९एच नाइन एन एकस० आदि जसलाई बर्डफ्लु भाइरस पनि भनिन्छ । यो अत्यन्त घातक भाइरस हुन्, जसको संक्रमणबाट मुख्य रूपमा घरेलु कुखुरा, हाँसलगायत प्रभावित हुन्छ ।
फागुनमा पूर्वी नेपालबाट सुरु भएको प्रकोप अहिले उपत्यकाको सदर चिडियाखानालगायत तीनै जिल्लाका विभिन्न स्थानमा फैलिएको विभागले बताएको छ । संक्रमणबाट चिडियाखानामा रहेका दुर्लभ गिद्ध, लाटोकोसेरो, राजहाँस, सारसलगायत दर्जनौं पन्छी मरिसकेका छन् । जंगली बिरालो, सिभेटलगायत केही जनावरमा पनि यो भाइरसको पुष्टि भएपछि प्रशासनले शुक्रबारदेखि चिडियाखाना अनिश्चितकालका लागि बन्द गरेको छ । बिदाको दिन चारदेखि पाँचरहजार अवलोकन गर्न पुग्ने चिडियाखानामा अन्य दिन करिब दुई हजारले भ्रमण गर्ने गरेका थिए । अधिकारीहरूका अनुसार सदर चिडियाखानामा यती ठूलो मात्रामा रोग फैलिएको यो पहिलो पटक हो ।
चिडियाखानामा पस्ने काग र अन्य जंगली पन्छीबाट संक्रमण फैलिएको अनुमान अधिकारीहरूको छ । जैविक सुरक्षामा भएको लापरबाहीको कारण चिडियाखानामा बर्डफ्लु फैलिएको अनुमान पशु सेवा विभागका अधिकारीहरूको छ । दर्जनौ जंगली चराहरू मरेपछि पनि अधिकारीहरूले घटना लुकाउने प्रयास गरेका आरोप लागेको थियो । धेरै चराहरू एकै पटक मर्न थालेपछि मात्र चिडियाखाना अधिकारीहरूले घटना सार्वजनिक गरेका थिए । विभागका एक अधिकारीले भने,प्रयोगशाला परीक्षणले भाइरस पुष्टि गरेको छ । सरकारले गठन गरेको छानबिन टोलीले प्रतिवेदन दिएपछि मात्र विस्तृत विवरण आउँछ ।
सरकारले सामान्यतया प्रकोप प्रभावित फार्महरूमा सबै पन्छी, पन्छीजन्य उत्पादन र दाना नष्ट गर्ने, स्थान सिल गर्ने र ४२ दिनसम्म आवतजावतमा रोक लगाउने गर्छ । बाँकी जंगली चराहरू वा जनावरहरूको हकमा भने कुखुरामा जस्तै नियम नलाग्ने र नमारिने अधिकारीहरु बताउँछन् ।अहिलेसम्म संक्रमण पुष्टि भएका फार्मका ६ लाखभन्दा बढी कुखुरा नष्ट गरिएका छन् । त्यस्तै लाखौं अण्डा र ठूलो मात्रामा कुखुराको दाना नष्ट गरिएको छ ।
