काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना जेठा छोरा डोनाल्ड ट्रम्प जुनियर र पाम बीचकी सोशलाइट बेटिना एन्डरसनको विवाह समारोहमा आफू सहभागी नहुने बताएका छन्। आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘म मेरो छोरा डोनाल्ड जुनियर र ट्रम्प परिवारको नयाँ सदस्य उनको चाँडै हुने पत्नी बेटिनासँग बस्न चाहन्थेँ। तर सरकारसँग सम्बन्धित परिस्थिति र संयुक्त राज्य अमेरिकाप्रतिको मेरो प्रेमले मलाई त्यसो गर्न अनुमति दिँदैन।’
उनले यो महत्त्वपूर्ण अवधिमा वासिङ्टन डीसीस्थित ह्वाइट हाउसमा रहनु आफ्नो लागि आवश्यक भएको पनि उल्लेख गरेका छन्। सीएनएनका अनुसार ट्रम्प जुनियर र बेटिनाले बहामासको एउटा सानो टापुमा दुई दिनसम्म विवाह समारोह आयोजना गर्दैछन्। फ्लोरिडाको पाम बीच काउन्टीमा दायर गरिएको विवाह इजाजतपत्र अनुसार यो जोडीले कानुनी रूपमा भने पहिले नै विवाह गरिसकेको छ।
राष्ट्रपति ट्रम्पले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै छोराले आफूलाई उपस्थित गराउन चाहेको भए पनि यो एउटा ुसानो निजी मामिलाु हुन गइरहेको बताएका थिए। उनले आफू विवाह समारोहमा जाने प्रयासमा रहे पनि समय अनुकूल नभएको बताएका थिए। कार्यव्यस्तताबारे प्रष्ट पार्दै ट्रम्पले भने, ‘मसँग इरान र अन्य कुराहरू छन्।’
फेब्रुअरी २८ देखि सुरु भएको इरानसँगको तनावका कारण ट्रम्प प्रशासन यतिबेला पाकिस्तानको मध्यस्थतामा कूटनीतिक वार्तामा संलग्न छ। यही कारणले गर्दा शुक्रबार न्यूयोर्कको हडसन भ्यालीको कार्यक्रमपछि न्यूजर्सीस्थित आफ्नो गल्फ क्लबमा रात बिताउने पूर्वयोजना रद्द गरी ट्रम्प ह्वाइट हाउस फर्कने भएका छन्।
एन्डरसनसँग ट्रम्प जुनियरको यो दोस्रो वैवाहिक सम्बन्ध हो। यसअघि पूर्व मोडल तथा अभिनेत्री भेनेसासँग उनको १२ वर्ष लामो वैवाहिक सम्बन्ध रहेको थियो, जसबाट उनका पाँच सन्तान छन्। भेनेसासँग सन् २०१८ मा सम्बन्धविच्छेद भएपछि उनी अमेरिकी टेलिभिजन व्यक्तित्व किम्बर्ली गुइलफोयलसँग इनगेज भएका थिए, जससँग सन् २०२४ मा उनी अलग भएका हुन्। सीएनएन
