काठमाण्डौं । नेपाली कांग्रेसको आधिकारिता सम्बन्धी विवादको रिटलाई सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’मा राखेको छ। बिहीबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले कांग्रेस विवादसम्बन्धी रिटलाई हेर्दाहेर्दैमा राखेको हो। आज सुनुवाइ बहस नसकिएपछि हेर्दाहेर्दै परेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। अब यस मुद्दामाथि शुक्रबार सुनुवाइ हुनेछ।
गत पुसमा विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको थियो। त्यसलाई निर्वाचन आयोगले मान्यता दिएपपछि निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्चमा रिट दायर गरेका थिए। यस रिटमाथि गत चैत २७ मा कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको इजलासमा सुनवाइ भएको थियो। संयुक्त इजलासले विशेष महाधिवेशनबाट चुनिएका सभापति थापालगायत विपक्षीलाई पेसीको सूचना दिन आदेश दिएको थियो।
त्यसअघि प्रारम्भिक सुनुवाइको क्रममा गत माघ ६ गते सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलले तत्कालीन सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा केही प्रश्नको निरूपण हुन जरूरी देखिएको भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। त्यतिवेला विपक्षीलाई कारण देखाउ आदेश जारी गरी अग्राधिकार प्रदान गरिएको थियो।
