दाङ्ग । दुधले बजार नपाएपछि दाङका किसान चिन्तित भएका छन्। शान्तिनगर गाउँपालिका वडा नं,२ बाघमारेस्थित दीप कृषि सहकारी संस्थामा भण्डारण गरिएको दुध बिक्री नभएपछि दुध फाल्न बाध्य भएको स्थानीय किसानहरू गुनासो गर्छन्।
दुग्ध विकास संस्थानले दुध खरिद गर्ने सहमति गरेसँगै सहकारीले दुध संकलन थालेको थियो। तर, पछिल्लो समय संस्थानले खरिद नगर्दा दुध फाल्न बाध्य भएको सहकारीका अध्यक्ष नेवबहादुर रोकाले बताए। ‘हामीले उत्पादन गरेको दुध संस्थानले दुई वर्षसम्म लियो। पछिल्लो समय १५ दिनमा एकपटक मात्र आउँछ,’ उनले भने, ‘त्यो पनि एक हजार लिटर मात्रै लिन्छ।’
यहाँ दैनिक तीन सय लिटरभन्दा बढी दुध उत्पादन हुन्छ। १५ दिनमा पाँच हजार लिटरभन्दा बढी दुध उत्पादन हुने भए पनि संस्थानले एक हजार लिटर मात्रै लिँदा भण्डारणमा पनि समस्या हुने गरेको अध्यक्ष रोकाको भनाइ छ। चिलिङ भ्याटमा समेत धेरै समय भण्डारण गर्न नमिल्ने उल्लेख गर्दै उनले भने, ‘चिलिङ भ्याटमा सात दिनसम्म मात्रै राख्न सकिन्छ। त्योभन्दा बढी राख्दा बिग्रिन्छ।’
यहाँका एक सय बढी किसानले दुध उत्पादन गरेर सहकारीलाई उपलब्ध गराउँदै आएका छन्। त्यो दुध दुग्ध विकास संस्थालाई बेच्ने र त्यहाँबाट आएको पैसा किसानलाई दिने कार्य हुँदै आएको थियो। तर, पछिल्लो समय संस्थानका अधिकारीहरू सम्पर्कमा पनि नआउने र बाँकी रहेको पैसा पनि नदिएपछि किसान चिन्तित भएको रोकाको भनाइ छ। उनका अनुसार संस्थानबाट करिब २० लाख रुपैयाँ भुक्तानी लिन बाँकी छ।