काठमाडौं। अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको नयाँ कीर्तिमान बनाएका छन्। समूह ‘जे’ अन्तर्गत अस्ट्रियाविरुद्ध जारी खेलमा टोलीका लागि पहिलो गोल गर्दै मेसीले विश्वकपमा आफ्नो कुल गोल संख्या १७ पुर्याए। यससँगै उनले जर्मनीका पूर्व फरवार्ड मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमान तोडेका हुन्।
अमेरिकाको टेक्सास राज्यस्थित डलास स्टेडियममा भएको खेलको ३८औँ मिनेटमा मेसीले गोल गरेका थिए। त्यसअघि उनी पेनाल्टीमा गोल गर्न भने चुकेका थिए। ३८ वर्षीय मेसीले गत साता अल्जेरियाविरुद्ध ३–० को जितमा ह्याट्रिक गर्दै क्लोजको कीर्तिमान बराबरी गरेका थिए। अहिले उनी छ वटा विश्वकप प्रतियोगितामा सहभागी हुँदै १७ गोलसहित शीर्ष स्थानमा पुगेका छन्।
सन् २००६ मा पहिलो विश्वकप खेलेका मेसीले अर्जेन्टिनाका लागि २०१ खेलमा १२१ गोल गरिसकेका छन्। साथै, उनी आफ्नो देशका लागि लगातार छ वटा विश्वकपमा गोल गर्ने तेस्रो खेलाडी बनेका छन्। हाल इन्टर मियामीबाट खेलिरहेका मेसीले उत्तर अमेरिकामा भइरहेको विश्वकप खेल्ने विषय अन्तिम समयसम्म टुंगो लगाएका थिएनन्। तर अन्ततः उनी अर्जेन्टिनाको उपाधि रक्षा अभियानको नेतृत्व गर्न मैदानमा उत्रिएका छन्।
चार वर्षअघि अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाएका मेसीले फेरि एकपटक इतिहास रचेका हुन्। अस्ट्रियामाथि जित हात पारे अर्जेन्टिना नकआउट चरणमा प्रवेश गर्नेछ। साथै, सोमबार नै हुने अर्को खेलमा जोर्डनले अल्जेरियालाई हराउन नसके अर्जेन्टिना समूह ‘जे’ को विजेतासमेत बन्नेछ। विश्वकपका सर्वाधिक गोलकर्ताको सूचीमा मेसीपछि क्लोज १६ गोलसहित दोस्रो स्थानमा छन्। त्यसपछि ब्राजिलका महान् स्ट्राइकर रोनाल्डो १५ गोलसहित तेस्रो स्थानमा छन्। जर्मनीका गर्ड मुलर र फ्रान्सका किलियन एम्बाप्पेले समान १४ गोल गरेका छन्।
