काठमाडौँ । उज्यालो नेपाल पार्टीले स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गर्न र विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएको छ । बुधबार पार्टी अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा गएको टोलीले प्रमुख निर्वाचन आयुक्तसमक्ष ज्ञापनपत्र बुझाउँदै आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट सम्पन्न गर्नुपर्ने माग गरेको हो ।
ज्ञापनपत्रमा स्थानीय तहको निर्वाचनलाई दलीय स्वार्थ र राजनीतिक शक्ति प्रदर्शनबाट मुक्त गर्दै नागरिकको प्रत्यक्ष सेवा, सुशासन र विकासमा केन्द्रित बनाउन गैरदलीय निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने उल्लेख छ । स्थानीय तहको नेतृत्व चयन गर्दा दलगत प्रभावभन्दा उम्मेदवारको योग्यता, इमानदारी, कार्यक्षमता, कार्ययोजना र नागरिकप्रतिको जवाफदेहितालाई प्राथमिकता दिनुपर्ने पार्टी अध्यक्ष घिसिङले बताए । ज्ञापनपत्रमा दलीय प्रतिस्पर्धाका कारण स्थानीय मुद्दा ओझेलमा पर्ने, राजनीतिक ध्रुवीकरण बढ्ने तथा निर्वाचन खर्च र आर्थिक चलखेलको जोखिम बढ्न सक्ने उल्लेख गरिएको छ ।
त्यस्तै, वैदेशिक रोजगारी, अध्ययन, व्यवसाय तथा अन्य प्रयोजनका लागि विदेशमा रहेका नेपाली नागरिकलाई आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न पनि पार्टीले माग गरेको छ । विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्न आवश्यक व्यवस्था मिलाउन ज्ञापनपत्रमार्फत आयोगको ध्यानाकर्षण गराइएको छ ।
