सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५२ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ। नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा बरामद गरिएको हो।
सशस्त्र प्रहरीका अनुसार,बुधवार राति करिब १२ बजेप समयमा सशस्त्र प्रहरी बल नेपाल, नं. ७ गण हेडक्वार्टर सिरहाअन्तर्गत बीओपी नवराजपुरबाट खटिएको सशस्त्र प्रहरी नायब निरीक्षक ९सप्रनि० को कमान्डमा रहेको सात सदस्यीय मोटरसाइकल गस्ती टोलीले गाँजा बरामद गरेको हो।
गस्ती टोलीले नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित सीमा क्षेत्रमा टाउकोमा बोकेर नेपालबाट भारततर्फ लैजाँदै गरिएको अवस्थामा गाँजा फेला पारेको थियो। प्रहरी टोलीलाई देखेपछि गाँजा बोकेका व्यक्तिहरू ९ बोरा गाँजा छाडेर फरार भएका थिए। बरामद गरिएको गाँजा कालो प्लास्टिकमा प्याक गरी बोराभित्र राखिएको अवस्थामा फेला परेको थियो। प्लास्टिकसहित यसको कुल तौल १५२ किलो १६० ग्राम रहेको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीका एसपी सुमन जंग थापाका अनुसार बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको छ।
