भारत । बंगालको खाडीमा विकसित अर्नब चक्रवात बुधबार बिहान भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गरेको छ। पूर्ण रूपमा जमिनी सतहमा आउन आज दिनभरि लाग्न सक्ने बताइएको छ। चक्रवात जमिनमा प्रवेश गर्ने प्रक्रिया सुरु भएपछि आन्ध्र प्रदेशका तटीय क्षेत्रमा तीव्र हावाहुरी र भारी वर्षा भएको छ। चक्रवातको प्रभाव ओडिशासम्म फैलिने अनुमानसँगै त्यहाँ ३० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको भारतीय अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ।
भारतको मौसम विज्ञान विभागका अनुसार चक्रवातले आन्ध्र प्रदेशको बापटला र विशाखापट्टनमबीच, पुदुचेरीको यानमको दक्षिणतर्फको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गरेको हो। बुधबार बिहान करिब १.२० बजेदेखि सुरु भएको जमिनमा प्रवेश गर्ने प्रक्रिया केही घण्टा जारी रहने विभागले जनाएको छ। चक्रवात प्रवेश गर्ने समयमा हावाको गति प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरसम्म पुगेको थियो भने झोक्का १५० किलोमिटरसम्म पुगेको थियो। चक्रवातका कारण काकिनाडा र विशाखापट्टनममा रूख ढलेका छन्, विद्युत्का तार चुँडिएका छन् र सडक अवरुद्ध भएका छन्।
मौसम विभागका अनुसार अनाकापल्ली र विशाखापट्टनम जिल्लाका केही स्थानमा मंगलबार बिहान साढे ८ बजेदेखि बुधबार बिहान ३ बजेसम्म २०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ। चक्रवातले समुद्रमा पानीको सतह बढाउने र तटीय क्षेत्रका होचा भूभाग डुबानमा पार्ने जोखिमसमेत रहेको विभागले जनाएको छ। काकिनाडा र यानम आसपास समुद्रको सतह सामान्य ज्वारभाटाभन्दा १।५ देखि २।५ मिटरसम्म माथि उठ्न सक्ने चेतावनी दिइएको छ।
चक्रवातको असर ओडिशामा पनि पर्ने अनुमान गरिएको छ। त्यहाँको सरकारले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्नुका साथै उद्धारकर्मी र आवश्यक उपकरण तयारी अवस्थामा राखेको छ। विपद् व्यवस्थापनमन्त्री सुरेश पुजारीका अनुसार दक्षिणी जिल्लाहरूमा चक्रवातको प्रभाव पर्ने सम्भावना छ। मलकानगिरी जिल्लामा सबैभन्दा बढी असर पर्न सक्ने अनुमान गरिएको छ। ओडिशाका गजपति, गञ्जाम, रायगडा, कोरापुट, नबरङ्गपुर र मलकानगिरीमा अत्यधिक वर्षा हुन सक्ने चेतावनी दिइएको छ।
ती जिल्लामा प्रतिघन्टा ६० देखि ८० किलोमिटरसम्म हावा चल्न सक्ने र झोक्का ९० किलोमिटरसम्म पुग्न सक्ने अनुमान छ। अन्य जिल्लामा पनि भारी वर्षा, चट्याङ र तीव्र हावाहुरीको सम्भावना रहेकाले सतर्कता अपनाउन भनिएको छ। चक्रवातका कारण यातायात र शैक्षिक गतिविधिसमेत प्रभावित भएका छन्। झारखण्डका राँची, पश्चिमी सिंहभूम, पूर्वी सिंहभूम र सिमडेगा जिल्लामा बुधबार र बिहीबार विद्यालय बन्द गरिएका छन्।
तमिलनाडुमा चेन्नईबाट विशाखापट्टनम, विजयवाडा र राजमुन्द्री जाने तथा ती सहरबाट चेन्नई आउने १२ उडान रद्द गरिएका छन्। दक्षिण रेलवेले पनि केही रेल सेवा रद्द गरेको छ भने हावडा–चेन्नई कोरोमण्डल एक्सप्रेसको समय परिवर्तन गरेको छ। इन्डिगो एयरले समेत चक्रवातका कारण राजमुन्द्री, विजयवाडा र विशाखापट्टनमका उडान प्रभावित हुने भन्दै यात्रुलाई विमानस्थल जानुअघि उडानको अवस्था जाँच गर्न आग्रह गरेको छ।
प्रशासनले प्रभावित क्षेत्रका बासिन्दालाई मौसममा सुधार नआएसम्म घरभित्रै बस्न र बिजुलीका खम्बा, विज्ञापन बोर्ड तथा पुराना रूखबाट टाढा रहन आग्रह गरेको छ। उद्धार टोलीले ढलेका रूख हटाउने, अवरुद्ध सडक खुलाउने र डुबानमा परेका क्षेत्रमा पानी निकास गर्ने काम गरिरहेको हिन्दुस्तान टाइम्सले जनाएको छ। भारतको जमिनी सतहमा प्रवेश गरेको चक्रवातको असरले नेपालमा भोलिदेखि पानी पर्ने पूर्वानुमान छ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद बिनु महर्जनले नेपाली आकाशको माथिल्लो वायुमण्डलमा बादलहरू प्रवेश गर्ने क्रम सुरू भएको बताएकी छन्। महर्जनका अनुसार बुधबार कतैकतै हल्का वर्षा हुन सक्छ। बिहीबार साँझदेखि भने वर्षाको दायरा र परिणाम पनि बढ्ने सम्भावना छ। महाशाखाले सार्वजनिक गरेको पाँच दिने मौसम बुलेटिनमा पनि बुधबार हिमाली भूभाग, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एक(दुई स्थानमा हल्का सम्मको वर्षा हुने भनिएको छ।
बुधबार राति कोशी प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू(भागका एक(दुई स्थानमा मध्यम सम्मको वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू(भागका एक(दुई स्थानमा मध्यम सम्मको वर्षा हुने अनुमान छ।
बिहीबार दिउँसो पनि मध्यसम्मको वर्षा र राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू(भागका एक(दुई स्थानमा तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भू(भागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। शुक्रबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक(दुई स्थानमा धेरै भारी वर्षा र हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। राति कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम थोरै स्थानमा भारी वर्षार हिमपात र कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षा र हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
