काठमाण्डौ । लोक तथा दोहोरी गायिका रीता थापामगर नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। कांग्रेसको १५औँ महाधिवेशनमा गरिएको नेतृत्व चयन चुनावमा उनी खुला महिलातर्फ २ हजार ३०८ मत प्राप्त गर्दै केन्द्रीय सदस्य पदमा विजयी भएकी हुन्। खुला महिलातर्फ १५ सदस्यका लागि ३६ जना उम्मेदवार भिडेका थिए।
निर्वाचित भएपछि रीताले फेसबुकमार्फत खुसी व्यक्त गर्दै आफूलाई साथ र सहयोग गर्ने सबैप्रति धन्यवाद दिएकी छन्। यो निर्वाचन मेरा लागि पद प्राप्तिको विषय मात्र होइन, लामो समयदेखि नेपाली कांग्रेसप्रति राख्दै आएको आस्था, राजनीतिक प्रतिबद्धता, सामाजिक उत्तरदायित्व र नेपाली कला, संस्कृति तथा लोकसङ्गीतको क्षेत्रमा गरेको यात्राको एउटा महत्त्वपूर्ण उपलब्धि पनि हो,’उनले लेखेकी छिन्।
दुई दशकभन्दा लामो समयदेखि लोकदोहोरी क्षेत्रमा सक्रिय रीता राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी निवर्तमान अध्यक्षसमेत हुन्।
