भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशी हुँदै गएको बाढीबाट प्रभावित क्षेत्रलाई जोड्न तुइन, बेलिब्रिज र झोलुङ्गे पुल निर्माण गरिएको बताएका छन्। विपद्पछि प्रभावित क्षेत्रमा बागमती प्रदेश सरकारको उपस्थिितिबारे जानकारी दिन आज भक्तपुरको जगातीमा आयोजित पत्रकार साक्षात्कारमा उनले नदी वारपार गर्न एवं खाद्यान्न र औषधी लैजान प्रदेश सरकारले तुइन जडान गरेको बताए।
उनले सङ्घ र प्रदेश सरकारले बुलिब्रिज निर्माण सुरु गरेको र प्रदेश सरकारले झोलुङ्गे पुल निर्माणका लागि प्रारम्भिक कार्य सुरु गरिसकेको जानकारी दिए। कृष्णभीरमा गएको पहिरो पछि वैकल्पिक सडकका रूपमा प्रदेश सरकारले भीमफेदी–कोगटे–ईपा–सिस्नेरी सडक खण्ड आजदेखि सञ्चालनमा ल्याएको बताउँदै उनले हेटौँडा–काठमाडौँ सडकमा पनि पहिरो जाने क्षेत्रमा डोजरले पहिरो पन्छाउने र जाम खुलाउने काम भइरहेको बताए।
यही भदौ १० गते रसुवामा बाढी गएलगत्तै प्रदेश सरकारले स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा उद्धार तथा राहतलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको मुख्यमन्त्री थापामगरको भनाइ छ। उनका अनुसार विपद्का कारण बागमती प्रदेशका रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लाका १५ वटा स्थानीय तह प्रभावित भई ठूलो मानवीय तथा भौतिक क्षति भएको छ।
रसुवाका गोसाईंकुण्ड, आमाछोदिङ्मो, कालिका र उत्तरगया गाउँपालिका बाढीबाट बढी प्रभावित भएको छ। तीमध्ये गोसाईंकुण्ड र उत्तरगयामा स्वास्थ्य चौकी, अस्पताल, पालिका भवनका साथै जनप्रतिनिधि तथा सर्वसाधारण ज्यान जाने गरी ठूलो क्षति भएको उनको भनाइ छ।
