काठमाडौँ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्याको विरोधमा राजधानी काठमाडौँ तातेको छ। घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गर्दै शुक्रबार अधिकारकर्मी तथा मृतकका आफन्तहरूले काठमाडौँमा प्रदर्शन गरेका हुन्।
‘गरिमालाई न्याय दे’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर सडकमा उत्रिएका प्रदर्शनकारीहरूले सरकारको फितलो उपस्थितिप्रति आक्रोश व्यक्त गरे। गरिमाका परिवारजनले यसअघि बारामा निरन्तर प्रदर्शन गर्दै आएका थिए। पीडित परिवार र स्थानीयको धर्नाका कारण वीरगञ्ज–पथलैया सडकखण्ड तेस्रो दिन पनि ठप्प प्रायः बनेको छ।
यसैबिच, बिहीबार राति स्थानीय प्रशासन र केही व्यक्तिहरूबीच भएको भनिएको सहमतिलाई पीडित पक्षले अस्वीकार गरिदिएको छ। मृतकका परिवारको सहभागिता र अनुमतिबिना गरिएको उक्त सहमति मान्य नहुने उनीहरूको अडान छ।
मृतकका बाबु मनोज चौधरीले गृहमन्त्री सुधन गुरुङ र कानुनमन्त्री सोबिता गौतम स्वयं घटनास्थलमा पुगेर पीडित परिवारसँग प्रत्यक्ष छलफल गर्नुपर्ने माग राखेका छन्। बालिकामाथि हुने यस्ता जघन्य अपराध रोक्न र दोषीलाई कडाभन्दा कडा सजाय दिलाउन नेपालको कानुन नै संशोधन गरिनुपर्ने उनको भनाइ छ।
पीडित परिवार र अधिकारकर्मीहरूले घटनाको सत्यतथ्य छानबिन गरी अविलम्ब न्यायको सुनिश्चितता गर्न सरकारसँग जोडदार माग गरेका छन्।
