बिराटनगर । सुनसरीको देवानगञ्जमा साउन १० गते भएको घटनापछि उत्पन्न परिस्थितिलाई साम्य पार्न कोसी प्रदेश सरकारले बोलाएको सर्वदलीय बैठकले मृतक र घाइतेलाई राहत सहयोगको घोषणा गरेको छ। घटनापछि सो क्षेत्रमा शान्ति सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्न कोसी सरकारको आयोजनामा बसेको सर्वपक्षीय बैठकले आठबुँदे निर्णय गरेको हो।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले घटनाका मृतकका परिवारलाई राहत दिनेसहित साम्प्रदायिक एकता जोगाउन विभिन्न महत्त्वपूर्ण कदमहरू चाल्ने सहमति गरेको हो। बैठकले घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताको परिवारलाई प्रदेश सरकारले २ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ भने आगजनीबाट क्षति व्यहोरेका परिवार तथा घाइतेहरूलाई प्रतिपरिवार ५० हजार रुपैयाँका दरले सहायता रकम दिने निर्णय गरेको छ।
साम्प्रदायिक एकता र भाइचारा कायम राख्न राजनीतिक, सामाजिक तथा प्रशासनिक पक्षले समन्वयात्मक पहल गर्ने निर्णय बैठकले गरेको छ, जसअनुसार पालिका तहमा सर्वदलीय बैठकहरू आयोजना गरी सद्भाव अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिनेछ। साथै स्थानीय प्रशासनको समन्वयमा सद्भाव यात्रा तथा सार्वजनिक अपिलजस्ता कार्यक्रमहरू अघि बढाइनेछ।
त्यसै गरी, सबै धार्मिक समुदायका संघसंस्थाले संयुक्त अपिल जारी गर्दै समन्वय र सहजीकरणमा भूमिका खेल्ने, सीमाक्षेत्रबाट हुन सक्ने अवाञ्छित गतिविधिप्रति उच्च सुरक्षा सतर्कता अपनाउने तथा घाइतेको उपचार र पीडित परिवारलाई राहतका लागि संघीय सरकारसँग समेत अनुरोध गर्ने निर्णय गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए।
उनका अनुसार बैठकले प्रभावित जिल्ला तथा आसपासका क्षेत्रमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरिएको छ। बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यो संवेदनशील घडीमा सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधि नगर्न सम्पूर्ण पक्षसँग आग्रह गरेका छन्।
सर्वपक्षीय बैठकमा नेपाली कांग्रेसका प्रदेश सभापति उद्धव थापा, नेकपा एमालेका प्रदेश अध्यक्ष घनश्याम खतिवडा, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश अध्यक्ष चन्द्रबहादुर राईसहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रदेशका सुरक्षा निकायका प्रमुख तथा उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति थियो।
