काठमाडौं । इजरायलमा जारी निर्वाचनको प्रारम्भिक मतगणनामा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले अग्रता लिएको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार २५.२ प्रतिशत मतगणना हुँदा नेतान्याहुको लिकुड पार्टी एक्लै ३२ सिटमा अगाडि छ। नेतान्याहुको गठबन्धन दलहरू समेतलाई जोड्दा ६३ सिटमा अग्रता देखिन्छ। यसैगरी विपक्षी नेता गादी आइजेनकोटको गठबन्धन दल ४९ सिटमा अगाडि छन्।
त्यस्तै, अरब पार्टीहरू ८ सिटमा अगाडि छन्। यी प्रारम्भिक रुझानमात्र भएकाले अन्तिम मतपरिणाममा सिट संख्या तलमाथि हुनसक्ने बताइएको छ। नेतान्याहुले भने– बलियो दक्षिणपन्थी सरकार बनाउनुपर्छ । प्रधानमन्त्री नेतान्याहुले आफ्नो लिकुड पार्टी निर्वाचनमा सबैभन्दा ठूलो दलका रूपमा अगाडि आएको दाबी गरेका छन्। मतगणनाको प्रारम्भिक रुझान सार्वजनिक भएपछि पार्टी कार्यालय पुगेका नेतान्याहुले भनेका छन्, ‘कुरा स्पष्ट छ। लिकुड इजरायलको सबैभन्दा ठूलो पार्टी हो।’
उनले एक्जिट पोलका अनुमानमा भर नपरी वास्तविक मतपरिणाम कुर्नुपर्ने पनि बताएका छन्। उनले निर्वाचन प्रचारका क्रममा केही सञ्चारमाध्यमले लिकुडले १८–१९ सिट मात्रै जित्ने अनुमान गरेको भन्दै आलोचना गरे। ती अनुमानले मतदातालाई मतदानबाट निरुत्साहित गर्न खोजेको उनको आरोप थियो। नेतान्याहुले बलियो दक्षिणपन्थी सरकार गठन गर्नुपर्नेमा जोड दिए। इजरायलविरोधी अरब पार्टीहरूको समर्थनमा चल्ने सरकार बनाउनु गलत हुने उनको भनाइ थियो। उनले अरब पार्टीहरूमाथि इजरायलको अस्तित्वको विरोध गरेको, हमासलाई परोपकारी संगठनका रूपमा प्रस्तुत गरेको र इजरायली सैनिकलाई युद्ध अपराधी भनेको आरोप पनि लगाए।
इजरायलमा सोमबार भएको आम निर्वाचनपछिका प्रारम्भिक एक्जिट पोलले बेन्जामिन नेतान्याहुको गठबन्धन र गादी आइजेन्कोट नेतृत्वको विपक्षी गठबन्धनले स्पष्ट बहुमत नपाउने सम्भावना देखाइएको छ। इजरायली समाचार संस्था कान ११ र च्यानल १३ ले सार्वजनिक गरेका पछिल्ला एक्जिट पोलअनुसार दुवै गठबन्धनले ५१–५१ सिट जित्ने अनुमान गरिएको छ। च्यानल १२ को संशोधित एक्जिट पोलमा भने नेतान्याहुको गठबन्धनले ५२ र आइजेन्कोट नेतृत्वको गठबन्धनले ५० सिट जित्ने अनुमान गरिएको छ।
