काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आफूले केही दिनअघि ‘ठेकदारको खुट्टा भाँच्न दिएको निर्देशन’को आशय काम चाँडै पूरा गर्न दबाब दिनु रहेको प्रतिक्रिया दिएका छन्। बजेटबारे प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिँदै उनले आफ्नो मनसाय निर्माण व्यवसायीलाई हतोत्साही बनाउने नरहेको दाबी गरे ।
केही दिनअघि नागढुंगा(मुग्लिन सडक स्तरोन्नति अनुगमनमा गएका बेला मन्त्री लम्सालले ‘काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिए हुन्छ’ भनेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । भिडियो भाइरल भएपछि मन्त्री लम्सालको व्यापक आलोचना भएको थियो । बिहीबारको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले राखेको जिज्ञासाको जवाफ दिँदै उनले आफ्नो आशय चाँडै काम पूरा होस्र भन्ने रहेको बताए।
एउटा ठेक्का तोड्दा निर्माण व्यवसायीलाई ठूलो क्षति पुग्ने भन्दै उनले यसबारे सरकार जानकार रहेको बताए । १ प्रतिशतमात्र पनि सम्भावना भएसम्म सुधार गरेरै जाने भन्ने आफूहरूको उद्देश्य रहेको भन्दै सोही अनुसार आह्वान गरिएको उनले बताए । निर्माण क्षेत्रमा रहेका समस्या समाधान गर्न सार्वजनिक खरिद ऐनमा सुधार गर्न लागिएको उनको भनाइ छ ।
